रास्वपा अभिमुखीकरणमा बालेन साह सहभागी नहुने, यस्तो छ कारण

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह अभिमुखीकरण कार्यक्रममा सहभागी नहुने भएका छन् । रास्वपाले नवनिर्वाचित सांसदहरूका लागि आयोजना गरेको दुई दिने अभिमुखीकरण कार्यक्रममा उनी सहभागी नहुने भएका हुन् । 

ललितपुरको ग्वार्कोस्थित एक होटलमा मंगलबारदेखि सुरु भएको आवासीय अभिमुखीकरण कार्यक्रम आज बुधबार सकिदैछ । कार्यक्रमको समापन सत्रमा पार्टी सभापति रवि लामिछाने केही समयका लागि सहभागी हुने बताइएको छ। 

भावी प्रधानमन्त्रीका रूपमा अघि सारिएका साह आगामी सरकारको तयारीमा व्यस्त भएकोले उपस्थित हुन नसक्ने रास्वपाले जनाएको छ । रास्वपा प्रवक्ता मनिष झाका अनुसार साहलाई केही दिनभित्र शारीरिक र मानसिक रूपमा निकै खट्नुपर्ने भएकाले कार्यक्रममा सहभागी नभएका हुन् । 

साहको अनुपस्थितिलाई अन्य अर्थमा नलिन समेत उनले आग्रह गरेका छन्। कार्यक्रममा सांसदहरूलाई संसदीय अभ्यास, वर्तमान कानुनी अवस्था तथा नीति निर्माण प्रक्रियाबारे जानकारी दिइएको छ।