काठमाडौँ उपत्यकामा पाहाँचह्रे जात्रा सुरु

काठमाडौँ उपत्यकाका नेवार समुदायले दशैँपछिको ठूलो पर्वका रुपमा मनाउने पाहाँचह्रे जात्रा आजदेखि सुरु भएको छ ।

यसलाई ‘पासाचह्रे’ पनि भनिन्छ । नेवारी भाषामा पाहाँको अर्थ पाहुना हो भने पासाको अर्थ साथी । चह्रे चन्द्रमासको भित्तेपात्रोअनुसार चौधौँ दिनलाई भनिन्छ । यस चाडका दिन खाइने मुख्य खाद्यवस्तु लसुन भएकाले कसै कसैले यसलाई ‘लसुने चाड’ पनि भन्ने गरेको संस्कृतिविद् प्रकाशमान श्रेष्ठले बताउनुभयो ।   

यस चाडलाई काठमाडौँमा नेवार सम्प्रदायले दसैँ र तिहारजस्तै मनाउँदै आएका छन् । यस दिन बालबालिका, युवायुवती, वृद्धवृद्धा बिहानै सूर्योदयभन्दा अघि उठी मध्याह्नसम्म हर्षोल्लासका साथ भद्रकाली, रक्तकाली, श्वेतकाली, कङ्केश्वरी आदि पीठका देवी, भैरव, गणेश आदि देवताको दर्शन तथा पूजा गर्छन् । मानिसले दिउँसोदेखि बेलुकीसम्म आआफ्ना घरमा परिवारसँग बसी विविध प्रकारका खानेकुराहरू खान्छन्। 

पाँहाचह्रेका दिन मुख्यतया समय्बजी खाइन्छ । यसमा चिउरा, बोडी, अन्डा, बारा, साग, अचार, आलु, माछा, भटमासलगायत परिकार खाइन्छ । विभिन्न स्थानमा अन्य देवीदेवताको खट जात्रा गरी पाहाँचह्रे पर्व मनाउने चलन छ । यस पर्वको पहिलो दिन बिहान विभिन्न शक्तिपीठमा पूजा गरी बेलुकी भष्मासुरको डरले लुकेर बसेका महादेवको पूजा गरिन्छ । ‘लुकु महाद्यः’ भन्दै महादेवको एउटा आकृतिलाई जमिनमुनि लुकाएर पूजा गर्ने परम्परा छ । घरघरमा खाल्डोमा राखिएका महादेवलाई लसुन, मुलाको पहेँलो र सेतो फूल राखेर पूजा गर्ने गरिन्छ । 

यस अवसरमा कङ्केश्वरीदेवीलगायत विभिन्न शक्तिपीठ देवदेवीका मूर्तिको खटजात्रा गर्ने परम्परा छ । कङ्केश्वरी मन्दिरमा यो जात्रा सुरु भइसकेको काठमाडौँ महानगरपालिका वडा नं १९ का वडा सदस्य चन्द्रमान डङ्गोलले जानकारी दिनुभयो । पाहाँचह्रे पर्वको दोस्रो दिन अर्थात् घोडेजात्राका दिन दुई वर्षसम्मका बालबालिकालाई मरःजा खुवाइन्छ । ८४ व्यञ्जनसहितको उक्त परिकार खुवाउँदा बालबालिका निरोगी हुने र भूतप्रेतले नसताउने जनविश्वास छ । 

पाहाँचह्रेको अन्तिम दिन बिहीबार दिउँसो असनमा देवीको खट जुधाउने जात्रा गरिन्छ । रातो, नीलो र पहेँलो गरी तीन वटा रङका टोपी र टी–सर्ट लगाएकाहरू असनको मुख्य चोकमा भेला हुन्छन् । भद्रकाली (लुँमरी अजिमा) र कङ्केश्वरी (चामुण्डार कङ्ग अजिमा)को खट बोक्नेले चिराग साट्ने गर्छन् । यसलाई स्थानीय भाषामा ‘द्य ल्वाकेगु’ भनिन्छ । 

पहिले असनमा सात खट जात्रा गरी ‘द्य ल्वाकेगु’ जात्रा हुने गरे पनि पछिल्लो समय दुई देवीको मात्र जात्रा हुने गरेको छ । खट तीन वटा भए पनि दुईवटा खट भद्रकाली (लुँमरी अजिमा) र एउटा खट कङ्केश्वरी (चामुण्डार कङ्ग अजिमा) को हुन्छ । यस जात्राका अवसरमा रातो, नीलो र पहेँलो गरी तीन वटा रङका टोपी र टी–सर्ट लगाएका मानिस असनको मुख्य चोकमा भेला हुन्छन् ।