एकै दिन विपदका ७३ घटना, ४ जनाको मृ*त्यु

पछिल्लो २४ घण्टामा विपदका विभिन्न घटनामा परी ४ जनाको मृत्यु भएको छ भने साढे २ करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ। 

गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो बुलेटिनअनुसार देशका ४३ जिल्लामा विपद्का घटना रेकर्ड भएका हुन्। चैत २ गते बिहान १० बजेदेखि चैत ३ गते बिहान १० बजेसम्मको अवधिमा देशभर ७३ वटा विपद्का घटना घटेको प्राधिकरणले जनाएको छ। 

यी घटनामा परी ४ जनाको मृत्यु भएको हो। त्यस्तै, १४ जना घाइते भएका छन्। मृत्यु हुनेमा हावाहुरीबाट २ जना, सर्पदंशबाट १ जना र चट्याङ लागेर १ जना रहेका छन्। 

यो अवधिमा सबैभन्दा बढी हावाहुरीका ४६ वटा र आगलागीका १२ वटा घटना दर्ता भएका छन्। विपद्का कारण २ करोड ४१ लाख ६ हजार ९ सय रुपैयाँ बराबरको अनुमानित क्षति भएको प्राधिकरणले जनाएको छ। यस्तै, २७ वटा चौपाया मरेका छन्। 

प्राधिकरणको तथ्यांकअनुसार २०८२ वैशाख १ गतेदेखि चैत ३ गतेसम्म देशभर कुल ६ हजार ९ सय ५१ वटा विपद्का घटना भइसकेका छन् ।

यी घटनाहरूमा परी हालसम्म ४ सय ७५ जनाले ज्यान गुमाएका छन् भने ३८ जना अझै बेपत्ता छन्। त्यसैगरी, १ हजार ८ सय ४६ जना घाइते भएका छन् भने १२ हजार ६ सय ५० परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।