राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नवनिर्वाचित सांसदहरूको दुईदिने अभिमुखीकरण ललितपुरको ग्वार्कोस्थित रोयल टुलिप होटलमा सुरू भएको छ ।
उद्घाटन सत्र उपसभापति डोलप्रसाद अर्यालले गर्नेछन्, सभापति रवि लामिछानेले समापन मन्तव्य दिनेछन् ।
पार्टी उपसभापति स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र बुर्लाकोटी र अन्य प्रशिक्षकहरूले नयाँ सांसदहरूलाई पार्टी, संसद र जिम्मेवारीबारे तालिम दिनेछन् ।
पहिलो दिन सांसदहरूलाई समूहमा परिचय गराउने, अन्तरक्रिया र कार्यसमूह सिप विकास गराउने, संसद्को संरचना र कार्यप्रणालीबारे पूर्वसचिव सुरेश अधिकारीबाट जानकारी गराइनेछ ।
वाग्लेले चुनावी वाचापत्र र सांसदहरूको जिम्मेवारी, तोयानाथ अधिकारीले कानुन निर्माण प्रक्रियाबारे प्रशिक्षण दिनेछन् ।
अध्येता दोभान राईले डिजिटल युगमा नागरिकसँग प्रभावकारी संवाद र संसद–नागरिक सम्बन्धबारे सिकाउनेछन् ।
चितवन–३ की सोविता गौतम लगायत केही सांसदहरूले अनुभव साझा गर्नेछन् ।
दोस्रो दिन योगाभ्यासबाट सुरु हुनेछ ।
त्यसपछि योजना तर्जुमा, बजेट निर्माण र संसदीय प्राथमिकता निर्धारणबारे प्रशिक्षण दिइनेछ ।
सत्रको अन्त्य सभापति लामिछानेको निर्देशनमा हुने छ ।
यद्यपि अभिमुखीकरणमा भने पार्टीका वरिष्ठ नेता तथा झापा–५ वाटा निर्वाचित बालेन शाह उपस्थित छैनन् ।
उनलाई रास्वपाले प्रधानमन्त्रीमा अघि सारेको छ ।
फागुन २१ को निर्वाचनमा रास्वपाले प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ सिटसहित झन्डै दुईतिहाइ मत हासिल गरेको थियो ।




