आइतबार साँझ आएको हावाले उदयपुरको कटारीमा २ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा कटारी नगरपालिका-८ थलीयाटारकी मिनामाया तामाङ र कटारी नगरपालिका-५ निवासी ६४ वर्षीय वीरेन्द्र चौधरी रहेका छन् ।
इलाका प्रहरी कार्यालय कटारीका अनुसार कटारी-५ स्थित राधा कृष्ण मन्दिर नजिक टिनको छाना र काठले बनेको खाजा घरमा वर्षासँगै आएको हावाले सुकेको सालको रुख ढल्दा चौधरीको मृत्यु भएको हो ।
सोही घटनामा रुखले किचेर ५ जना घाइते भएका छन् । घाइते हुनेहरूमा ४ वर्षीया बिनिशा चौधरी, कटारी नगरपालिका-५ आहालेडाँडा बस्ने २७ वर्षीय युवराज कार्की, कटारी नगरपालिका-५ बलाहा बस्ने ४६ वर्षीय लीला बहादुर दनुवार, सोही स्थानका ४६ वर्षीय प्रेमचन्द्र दनुवार तथा कटारी नगरपालिका-१२ बसेरी बस्ने १६ वर्षीया अस्मिता परियार रहेका छन् ।
उनीहरूको प्रादेशिक अस्पताल कटारीमा उपचार भइरहेको छ।
घटनामा घाइते भएकी ४ वर्षीया बालिका बिनिशा चौधरीलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीको सहयोगमा करिब ४० मिनेटपछि उद्धार गरिएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।
यस्तै कटारी नगरपालिका-८ की मिनामाया तामाङ घरमा खसी-बाख्रा सार्ने क्रममा हावाले भाँचको रुखको हाँगाले लागेर गम्भीर घाइते भएकी थिइन् ।
उनलाई उपचारका लागि प्रादेशिक अस्पताल कटारी ल्याइए पनि चिकित्सकले राति ९:१० बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये टाउकोमा गम्भीर चोट लागेका कटारी नगरपालिका-५ बलाहा बस्ने ४६ वर्षीय लीलाबहादुर दनुवारलाई थप उपचारका लागि विराटनगर पठाइएको प्रहरीले जनाएको छ ।




