प्रधान सेनापति सिग्देल र अमेरिकी लेफ्टिनेन्ट जनरल भोवेलबीच जङ्गी अड्डामा भेटवार्ता

प्रधान सेनापति अशोकराज सिग्देल र अमेरिकी सेनाको प्यासिफिक कमाण्डका उपप्रमुख लेफ्टिनेन्ट जनरल जोएल भोवेलबीच आज जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ। सैनिक मुख्यालयमा भएको उक्त भेटमा दुई देशबीचको सैन्य सम्बन्ध र आपसी हितका विविध विषयमा गहन छलफल भएको नेपाली सेनाले जनाएको छ।

नियमित भ्रमणको सिलसिलामा भारत र भुटान हुँदै आइतबार नेपाल आइपुगेका भोवेल नेतृत्वको टोलीले काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको समेत भ्रमण गर्ने कार्यक्रम रहेको छ। शान्ति स्थापना कार्यमा नेपाली सेनाको भूमिका र तालिम केन्द्रको वस्तुस्थितिबारे बुझ्न उनीहरू त्यसतर्फ जान लागेका हुन्।

अमेरिकी सैन्य टोलीको यो भ्रमणले नेपाल र अमेरिकाबीचको दशकौँ पुरानो सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास लिइएको छ। विशेषगरी मानवीय सहयोग, विपद् व्यवस्थापन र विश्व शान्ति स्थापनामा दुई देशबीचको सहकार्यलाई यसले नयाँ उचाइ दिने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले बताए। भोवेल नेतृत्वको टोली आफ्नो नेपाल भ्रमण पूरा गरी भोलि मङ्गलबार थाइल्याण्डतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ।