नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थमा गरिएको ठूलो मूल्यवृद्धिको विरोध गर्दै सार्वजनिक यातायातको भाडा तत्काल समायोजन गर्न सरकारसँग माग गरेको छ।
नेपाल आयल निगमले जेठ २ गते रातिदेखि लागू हुने गरी डिजेलमा प्रतिलिटर १० रुपैयाँ र पेट्रोलमा १५ रुपैयाँ मूल्य वृद्धि गरेको भोलिपल्ट नै महासंघले विज्ञप्ति जारी गर्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
महासंघका अनुसार एकैपटक यति ठूलो मूल्य वृद्धि हुँदा यातायात व्यवसायी र आम उपभोक्तामा प्रत्यक्ष असर परेको छ।
महासंघका महासचिव डकनाथ गौतमले जारी विज्ञप्तिमा भनेका छन्, “सार्वजनिक यातायात पूर्ण रूपमा इन्धनमा निर्भर रहेकोले मूल्य घटबढ हुँदा यसको प्रत्यक्ष असर व्यवसायमा पर्छ।”
यातायात व्यवस्था विभागले स्वचालित प्रणालीमार्फत भाडा समायोजन गर्दै आएको भए पनि २०७८ फागुन २२ गतेदेखि भाडा समायोजन नभएको भन्दै महासंघले असन्तुष्टि व्यक्त गरेको छ।
महासंघले सवारी साधनसँग सम्बन्धित १३ वटा सूचकलाई आधार मानेर २०६५ सालमा तय गरिएको वैज्ञानिक विधि अनुसार तत्काल भाडा समायोजन गर्न माग गरेको छ।
विज्ञप्तिमार्फत संघीय रुटका लागि यातायात व्यवस्था विभाग, र प्रदेश अन्तर्गतका रुटका लागि सातै प्रदेशका सम्बन्धित मन्त्रालय मार्फत यथाशीघ्र भाडा समायोजन गरिदिन सरकारको ध्यानाकर्षण गराइएको छ।
यातायात व्यवसायीहरूले नेपाल आयल निगमले मूल्यवृद्धि गरेर समस्या समाधान नहुने भन्दै आन्तरिक चुहावट रोक्न र पेट्रोलियम पदार्थको खपतलाई नियन्त्रण गरि वैज्ञानिक विधी अपनाई पेट्रोलियम पदार्थको सहज आपूर्ति व्यवस्था मिलाउनसमेत आग्रह गरेका छन् ।
उनीहरूले निगमभित्रको आन्तरिक चुहावट नियन्त्रण, पेट्रोलियम खपत व्यवस्थापन, र वैज्ञानिक विधि अपनाएर सहज आपूर्ति व्यवस्था मिलाउन समेत नेपाल सरकारसँग माग गरेका छन्।






