माडी नगरपालिकाले ग-र्यो सात वर्गमा जमिन वर्गीकरण

चितवनको माडी नगरपालिकाले पालिकाभित्रको जमिन सात वर्गमा वर्गीकरण गरेको छ। स्थानीय भू–उपयोग परिषद् माडी नगरपालिकाले भू–उपयोग ऐन २०७६ र नियमावली २०७९ अनुसार जमिन वर्गीकरण गरेको हो।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुषालका अनुसार पालिकाभित्र सबैभन्दा धेरै क्षेत्रफल जङ्गलले ओगटेको छ। नगरपालिकाको कुल २१ हजार ८२४ दशमलव ४४ हेक्टर क्षेत्रफलमध्ये १२ हजार ९७५ दशमलव ७५ हेक्टर जङ्गल रहेको छ।

त्यस्तै ६ हजार ५३५ दशमलव ०७ हेक्टर जमिन कृषियोग्य रहेको छ। सार्वजनिक जमिन ३१५ दशमलव ५२ हेक्टर, आवासीय जमिन एक हजार ९१८ दशमलव ८७ हेक्टर, व्यावसायिक जमिन ५९ दशमलव ९३ हेक्टर, औद्योगिक क्षेत्र १० दशमलव ०२ हेक्टर र सांस्कृतिक जमिन ९ दशमलव ३१ हेक्टर रहेको छ।

जमिन वर्गीकरणको काम सकिएकाले सबै विवरण वडा कार्यालयमा पठाइएको नगरपालिकाले जनाएको छ। जग्गा वर्गीकरणबारे चित्त नबुझे भू–उपयोग कार्यान्वयन निर्देशिका २०८१ को दफा २८ उपदफा २ अनुसार निवेदन दिन सकिने नगरपालिकाले सूचना जारी गरेको छ। निवेदन आएमा त्यसबारे अध्ययन गरेर पुनःविचार गरिने बताइएको छ।