अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरल जोएल वाउल नेपाल भ्रमणमा

अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरल जोएल वाउल तीन दिने औपचारिक भ्रमणका लागि नेपाल आएका छन्।

प्रशान्त क्षेत्रीय अमेरिकी सेनाका उपकमाण्डिङ जनरल रहेका वाउलसहितको भ्रमण टोली पूर्वनिर्धारित कार्यक्रमअनुसार आइतबार नेपाल आइपुगेको हो।

चैत्र ३ गतेसम्म रहने भ्रमणका क्रममा उनले नेपाली सेनाका उच्च अधिकारीहरूसँग औपचारिक भेटघाट गर्ने कार्यक्रम रहेको छ। साथै उनले पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको पनि भ्रमण गर्ने जनाइएको छ।

नेपाली सेनाका अनुसार यस प्रकारको नियमित भ्रमणले नेपाल र संयुक्त राज्य अमेरिका बीचको सम्बन्ध थप प्रगाढ हुनुका साथै मानवीय सहयोग, विपद् व्यवस्थापन तथा अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यजस्ता क्षेत्रमा सहकार्य विस्तार गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।