सरकारले फागुनसम्म कुल ७ खर्ब ५१ अर्ब राजश्व सङ्कलन गरेको छ ।
चालु आर्थिक वर्षमा १४ खर्ब ८० अर्ब आम्दानी गर्ने लक्ष्य राखेको सरकारले ७ खर्ब ५१ अर्ब ८५ करोड ६५ लाख राजश्व सङ्कलन गरेको हो । गत आर्थिक वर्षको सोही अवधिसम्म भने ७ खर्ब २९ अर्ब ६५ करोड ८८ लाख रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।
अर्थ मन्त्रालयका अनुसार समीक्षा अवधिमा मूल्य अभिवृद्धि कर (भ्याट), अन्तःशुल्क र भन्सार महसुलतर्फ राजस्व सङ्कलन बढेको छ । तर आयकर र ब्याजकरसहितका केही शीर्षकमा भने अघिल्लो वर्षको तुलनामा राजस्व सङ्कलन घटेको छ ।
फागुनसम्म आयकरतर्फ १ खर्ब ७० अर्ब ९० करोड रुपैयाँ सङ्कलन भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा भने १ खर्ब ७३ अर्ब २६ करोड रुपैयाँ सङ्कलन भएको थियो । त्यस्तै ब्याजकरतर्फ चालु आर्थिक वर्षमा १९ अर्ब ५१ करोड रुपैयाँ मात्र सङ्कलन भएको छ, जबकि गत आर्थिक वर्षको फागुनसम्म २२ अर्ब ५९ करोड ४६ लाख रुपैयाँ सङ्कलन भएको थियो ।
भन्सार महसुलतर्फ फागुन मसान्तसम्म १ खर्ब ५५ अर्ब ९० करोड रुपैयाँ सङ्कलन भएको छ भने मूल्य अभिवृद्धि करतर्फ २ खर्ब २५ अर्ब ५३ करोड रुपैयाँ सङ्कलन भएको अर्थ मन्त्रालयले जनाएको छ । सरकारले फागुनसम्म ९ खर्ब १० अर्ब २० करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो ।
आठ महिनामा कति भयो खर्च ?
सरकारले चालु आर्थिक वर्षको आठ महिनामा कुल ९ खर्ब २६ अर्ब रुपैयाँ बजेट खर्च गरेको छ । चालु आर्थिक वर्षका लागि सरकारले १९ खर्ब ६४ अर्ब रुपैयाँको बजेट ल्याएको थियो ।
चालुतर्फ ११ खर्ब ८० अर्ब रुपैयाँ बजेटमध्ये हालसम्म ६ खर्ब ४२ अर्ब रुपैयाँ खर्च भएको छ । यता पुँजीगततर्फ भने खर्च निकै कम देखिएको छ । पुँजीगततर्फ ४ खर्ब ७ अर्ब रुपैयाँ बजेटमध्ये सरकारले हालसम्म ७८ अर्ब रुपैयाँ मात्र खर्च गर्न सकेको छ ।
त्यस्तै, सार्वजनिक ऋणको सावाँ र ब्याज भुक्तानीका लागि छुट्याइएको ३ खर्ब ७५ अर्ब रुपैयाँमध्ये हालसम्म २ खर्ब ५ अर्ब रुपैयाँभन्दा बढी खर्च भइसकेको छ । पछिल्लो समय विदेशी मुद्रामा देखिएको उतारचढावले पनि ऋण व्यवस्थापनमा सरकारलाई थप चुनौती सिर्जना गर्दै गएको बताइएको छ ।



