राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज आइतबार बिहान १० बजे वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बस्दैछ। हिजो शनिबारका लागि तय गरिएको यो बैठक सभापति रवि लामिछाने अस्वस्थ भई चिकित्सकको सल्लाहअनुसार ‘बेड रेस्ट’ मा रहेका कारण आजका लागि सारिएको हो।
यस बैठकमा मुख्यतया हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीले प्राप्त गरेको ५७ समानुपातिक सिटमा सांसद हुने उम्मेदवारहरूको नाम टुङ्गो लगाउने र त्यसको अन्तिम सूची तयार पारी केन्द्रीय समितिमा पठाउने विषयमा छलफल हुनेछ।
बैठकको अर्को महत्वपूर्ण एजेन्डा पार्टीका वरिष्ठ नेता वालेन्द्र (बालेन) साहलाई संसदीय दलको नेता चयन गर्ने र उनलाई प्रधानमन्त्री बनाउने मार्ग प्रशस्त गर्नका लागि पार्टीको विधान संशोधन गर्नु रहेको छ। झापा-५ बाट भारी मतान्तरले विजयी भएका साहलाई प्रधानमन्त्रीको रूपमा अघि सार्दै रास्वपाले यस निर्वाचनमा १८२ सिटसहित ऐतिहासिक बहुमत प्राप्त गरेको छ।
सचिवालय बैठकपछि लगत्तै बस्ने केन्द्रीय समितिको बैठकले यी निर्णयहरूलाई औपचारिकता दिने र निर्वाचन आयोगमा समानुपातिक सांसदको सूची बुझाउने तयारी गरेको छ।





