ग्यास अभाव कम गर्न आधा सिलिण्डर बजारमा पठाइँदै

नेपाल आयल निगमले शुक्रबारदेखि देशभर ग्यास अभाव कम गर्न आधा भरीका सिलिण्डर बजारमा पठाउन सुरु गरेको छ ।

निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार उपभोक्तामा फैलिएको डर र ग्यास सञ्चिति बढ्दा बजारमा वितरणमा समस्या देखा परेको कारण यो कदम चालिएको हो।

ठाकुरले भने, “सुरुमा चुनावको सन्दर्भमा ग्यास आपूर्तिमा समस्या आउन सक्ने आशंकाले उपभोक्ताले बढी ग्यास जोहो गरेका थिए । सुरुमा केही कम्पनीमा मात्र ग्यास अभाव देखिएको भए पनि अहिले अरु कम्पनीमा पनि ग्यास नपाउने स्थिति आएपछि आधा सिलिण्डर वितरण सुरु गरिएको हो।”

निगमका अनुसार देशमा ग्यास आयात खपत अनुसार नै भइरहेको छ। गत पुस महिनामा ४७ हजार मेट्रिक टन, माघमा करिब ४६ हजार मेट्रिक टन ग्यास आयात भएको थियो। यस महिनामा फागुन २६ गतेसम्म करिब ४६ हजार मेट्रिक टन ग्यास आयात भइसकेको छ।

ठाकुरका अनुसार ग्यास अभावको असर विशेषगरी विद्यार्थी, मजदुरलगायतमा बढी परेको छ ।
उनीहरूले सिलिण्डर पाउन महिनौँ कुर्नुपर्ने अवस्था भएपछि निगमले ७.१ केजी ग्यास भरेर आधा सिलिण्डर वितरण गर्ने निर्णय गरी कार्यान्वयनमा ल्याएको हो ।