उपाध्यक्षको घरमा काम गर्ने बालिका मृ*त फेला

सुनसरीको देवानगंज गाउँपालिकाकी उपाध्यक्ष बिभा कुमारी यादवको घरमा काम गर्ने एक १४ वर्षीया बालिका मृत फेला परेकी छिन्। 

देवानगंज गाउँपालिका वडा नं. २ स्थित उपाध्यक्ष यादवको घरमा विगत केही समयदेखि घरेलु कामदारका रूपमा कार्यरत सम्झना कुमारी खत्वे झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मंगलबार दिउँसो अन्दाजी ३ बजेतिर स्थानीय शिवदयाल खत्वेकी १४ वर्षीया छोरी सम्झना कुमारी खत्वेले घरको दोस्रो तल्ला छिर्ने ढोकाको काठको बलोमा सलको पासो लगाई झुण्डिएको अवस्थामा फेला परेकी थिइन् ।

घटनाबारे इलाका प्रहरी कार्यालय देवानगंजमा जानकारी प्राप्त भए लगत्तै प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको थियो । सुनसरी प्रहरीका अनुसार घटनास्थलमा प्रहरी टोली खटिएर प्रारम्भिक अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गरेको छ। 

मृतक बालिकाको शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल इनरुवा पठाइएको प्रहरीले जानकारी दिएको छ । मृतकका आफन्त र परिवारले घटनाको निष्पक्ष छानविनको माग गरेका छन्।