फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक हुने चरणमा पुगेको छ।
निर्वाचन आयोगले परिणाम घोषणा गरेलगत्तै सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभा बैठक बोलाउने तयारी सुरु गरेको छ।
नेपालको संविधानको धारा ९३ अनुसार राष्ट्रपतिले निर्वाचन परिणाम घोषणा भएको मितिबाट ३० दिनभित्र संसद् अधिवेशन आह्वान गर्नुपर्छ।
सचिवालयले प्रायः नवनिर्वाचित सांसदहरूलाई संसद् बैठकका लागि करिब १० दिन समय दिँदै सूचना पठाउँछ।
यसबीच ज्येष्ठ सदस्य राष्ट्रपतिबाट शपथ लिएर अरु सांसदलाई शपथ गराउँछन्।
सभामुखको निर्वाचन नभएसम्म ज्येष्ठ सदस्यले सभामुखको भूमिका निर्वाह गर्ने कानुनी व्यवस्था छ।
पहिलो बैठकमा सभामुखको निर्वाचन घोषणा हुनेछ र अनुपस्थित अवस्थामा भूमिका निर्वाह गर्न दलहरूले सांसदको नाम सिफारिस गर्छन्।
अध्यादेश आवश्यक भए त्यहाँ पेश गरिन्छ।
निर्माणाधीन संसद् भवन तयार नभएकाले प्रारम्भिक बैठक अर्को हलमा बस्ने तयारी भइरहेको छ।
उक्त हलमा आवश्यक प्राविधिक व्यवस्था भइरहेको सचिवालयले जनाएको छ।
सङ्घीय संसद् भवन विसं २०७६ असोज १६ मा सुरु भएर २०७९ असोज १५ भित्र सम्पन्न हुने सम्झौता भएको थियो।
हालसम्म कोरोना महामारी लगायत कारणले निर्माण पूरा भएको छैन। १५१ रोपनीमा फैलिएको परियोजनामा १२ भवन निर्माण हुनेछन्, जसमा प्रतिनिधिसभा, राष्ट्रियसभा भवन, अतिविशिष्ट कक्ष, संसदीय दलका कार्यालय, पुस्तकालय, क्यान्टिन र ३९० गाडी पार्किङ सुविधा समावेश छन्।





