मकवानपुरमा निवर्तमान सांसदसहित ३४ जना उम्मेदवारको धरौटी जफत

 मकवानपुरका ३४ जना उम्मेदवारले सदर मतको १० प्रतिशत पनि मत पाउन नसक्दा धरौटी जफत भएको छ ।

२१ फागुनमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा १ नम्बर क्षेत्रका १८ जना र २ नक्बर क्षेत्रका १६ जना उम्मेदवारको धरौटी (जमानत) जफत भएको हो । धरौटी जफत हुनेमा १ नम्बर क्षेत्रबाट अघिल्लो निर्वाचन जितेका राप्रपाका दीपकबहादुर सिंह पनि छन् । उनले सदर मतको १० प्रतिशत कटाउन सकेनन अर्थात ४५७४ मत मात्रै पाए । उनले अघिल्लो निर्वाचनमा २७ हजारभन्दा बढी मत पाएका थिए ।

१ नम्बर क्षेत्रमा १३ राजनीतिक दल र १० स्वतन्त्र गरी २३ जना उम्मेदवारले निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए । विजयी उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टी (राास्वपा)का प्रकाश गौतमसहित पाँचजनाले मात्रै आफ्नो धरौटी जोगाएका छन् । नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डीना, नेकपा एमालेका रामेश्वर राना, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का विजय गौतम र उज्यालो नेपाल पार्टीका सुरेन्द्र लामाले धरौटी जोगाउन सके ।

१ नम्बर क्षेत्रका ११ जना उम्मेदवारले ५० मतसमेत कटाउन सकेनन् । मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ मा कुल ९५ हजार ३ सय १० मत खसेको थियो । त्यसमध्ये ९० हजार ७ सय २५ मत सदर भएको थियो ।

यसैगरी, २ नम्बर क्षेत्रमा कुल ९१ हजार २ सय ४१ मत खसेकोमा ८५ हजार ६ सय १९ मत सदर भएको थियो । यसक्षेत्रमा १६ राजनीतिक दल र ५ स्वतन्त्र गरी २१ जना प्रतिस्पर्धामा थिए । रास्वपाका प्रशान्त उप्रेती (विजयी), नेकपा एमालेका महेश बर्तौला, नेपाली कांग्रेसका बुद्ध लामा, नेकपाका लवशेर विष्ट र उज्यालो नेपाल पार्टीका प्रवीणकुमार स्याङ्तानले धरौटी जोगाएका छन् ।

कुल सदरमतको १० प्रतिशत मत प्राप्तगर्न नसक्ने उम्मेदवारको धरौटी जफत हुने कानुनी व्यवस्था रहेको छ । धरौटी जफत हुँदा उम्मेदवारी दर्ता गर्दा बुझाएको १० हजार रुपैयाँ राज्यकोषमा जाने व्यवस्था छ ।