प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सहभागी रुकुम पश्चिमका मतदातालाई धन्यवाद दिएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत एक भिडियो सन्देश जारी गर्दै उनले निर्वाचनबाट विजयी भएका उम्मेदवारहरूलाई बधाई दिनुका साथै आफू पदमा रहे पनि नरहे पनि जनताको सेवामा सधैँ समर्पित रहने प्रतिबद्धता जनाएका हुन् ।
शर्माले तोकिएकै समयमा निर्वाचन सम्पन्न गराएकोमा प्रधानमन्त्री सुशील कोइराला, निर्वाचन आयोग, सुरक्षा निकाय, जिल्ला निर्वाचन कार्यालय र सम्पूर्ण कर्मचारीलाई धन्यवाद दिए। रुक्मेली जनताको रोजाइमा परेर निर्वाचित भएका गोपाल शर्मालाई बधाई दिँदै उनले जनताका आशा र अपेक्षा पूरा गर्न सुझाव दिए। निर्माणाधीन परियोजनाहरूको सम्पन्नता, गरिब र बेरोजगारका समस्या समाधान गर्दै सुशासनयुक्त र समृद्ध रुकुम बनाउने दिशामा अगाडि बढ्न उनले विजयी उम्मेदवारलाई आग्रह गरे। लोकतान्त्रिक मूल्यमान्यताका आधारमा रुकुमको विकास गर्नुपर्नेमा उनको जोड थियो।
रुकुमको समग्र विकासका लागि जिल्लाका सम्पूर्ण राजनीतिक दलहरू एकजुट हुनुपर्ने शर्माले बताए। रुकुम एकीकृत विकास योजनाको दोस्रो चरणलाई पूर्णता दिँदै सामाजिक न्याय र समानतायुक्त समाज निर्माण गर्न उनले सबै दलहरूलाई एकताबद्ध भएर योगदान गर्न आह्वान गरेका छन्।
राष्ट्रिय राजनीतिको सन्दर्भमा बोल्दै शर्माले नेपाली मतदाताले राजनीतिक अस्थिरताको मानसिकता र प्रवृत्तिलाई यसपटक परास्त गरेको बताए। उनले ऐतिहासिक जनमत प्राप्त गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र सो पार्टीका सभापति रवि लामिछाने तथा वरिष्ठ नेता बालेन्द्र शाहलगायत सम्पूर्ण टिमलाई विशेष बधाई दिए। जनताको यो ऐतिहासिक जनमतलाई आत्मसात गर्दै सुशासन, आर्थिक विकास र सामाजिक न्यायसहितको समाजवादको बाटोमा अघि बढ्न उनले रास्वपालाई सुझाव दिए। संविधान र राष्ट्रको रक्षा गर्दै साँचैको विकसित नेपाल बनाउने ऐतिहासिक जिम्मेवारी रास्वपाको काँधमा आएको भन्दै उनले यस कार्यमा सफलता मिलोस् भन्ने कामना समेत गरे।
निर्वाचनमा सफलता हासिल गर्ने देशैभरका सम्पूर्ण विजयी उम्मेदवारहरूलाई बधाई दिँदै शर्माले आफू एउटा सचेत नागरिकको हैसियतले राष्ट्रको हितमा हुने हरेक कदममा साथ र समर्थन दिने प्रष्ट पारे। रुक्मेली जनताले विगतदेखि नै आफूलाई गर्दै आएको विश्वास, माया र सद्भावप्रति ऋणी रहेको बताउँदै उनले आगामी दिनमा पदमा हुँदा वा नहुँदा पनि निरन्तर जनताकै सेवामा समर्पित रहने प्रण गरेका छन्।




