जाँझबुझ आयोगको प्रतिवेदन सरकारलाई बुझाउने तयारी

 गत २३ र २४ भदौमा भएको ‘जेन-जी’ आन्दोलनका क्रममा भएको दमन र विध्वंसबारे छानबिन गर्न गठित जाँझबुझ आयोगले भोलि आइतबार सरकारलाई आफ्नो प्रतिवेदन बुझाउने भएको छ। विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा रहेको आयोगले प्रतिवेदनको अन्तिम तयारी गरिरहेको र प्रधानमन्त्रीसँग समय माग गरेको जनाएको छ।

आयोगका पदाधिकारीहरू अहिले प्रतिवेदनको अन्तिम रुजु र छलफलका लागि सिंहदरबारस्थित कार्यालयमा बैठक बसिरहेका छन्। आयोगका एक पदाधिकारीका अनुसार प्रतिवेदन लेखन सकिएको छ र आजै सबै काम सकेर भोलि बुझाउने तयारी छ। ५ असोजमा सरकारले विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा पूर्वएआईजी विज्ञानराज शर्मा र कानुनविज्ञ विश्वेश्वर भण्डारी सदस्य रहेको यो उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको थियो।

आयोगले २१ फागुनको निर्वाचनअघि नै प्रतिवेदन बुझाउने तयारी गरे पनि निर्वाचनमा सुरक्षा जोखिम हुनसक्ने सरकारको आँकलनका कारण म्याद थप गरिएको थियो। पछिल्लो पटक थपिएको म्याद भोलि आइतबार सकिन लागेकाले सोही दिन सरकारलाई प्रतिवेदन बुझाइने आयोगले दाबी गरेको छ। यो प्रतिवेदनले आन्दोलनका क्रममा भएका मानवीय र भौतिक क्षतिको वास्तविकता बाहिर ल्याउने अपेक्षा गरिएको छ।