मतगणना नसकिँदै झापा–५ मा बालेनको जित निश्चित

 राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको जित निश्चित भएको छ । झापा–५ मा जारी मतगणना अनुसार बालेनले कायम गरेको मतान्तर गन्न बाँकी मतभन्दा कम भएसँगै उनको जित सुनिश्चित भएको हो । 

पछिल्लो मतगणना अनुसार बालेनले ४७ हजार ७७९ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका अध्यक्ष केपी शर्मा ओलीले १२ हजार ६९९ मत प्राप्त गरेका छन् । यो झण्डै ३५ हजारको मतान्तर हो । 

झापा–५ मा १ लाख ६ हजार मत खसेको छ । त्यसमध्ये अहिलेसम्म ७५ हजार ३७७ मत गणना भएको छ । अब करिब ३१ हजार मत गन्न बाँकी छ । अब गन्ने सबै मत ओलीले ल्याए पनि बालेनले चुनाव जित्नेछन् । 

यो क्षेत्रमा नेपाली काँग्रेसकी मन्धरा चिमरियाले १ हजार ३१८ मत, नेपाली कम्युनिस्ट पार्टीका रञ्जित तामाङले १ हजार ८७ मत तथा श्रम संस्कृति पार्टीका समिर तामाङले ७ हजार ५३५ मत प्राप्त गरेका छन् ।