एकमात्र निर्वाचन क्षेत्र रहेको डोटीमा नेपाली कांग्रेसका उम्मेदवार भरतबहादुर खड्का प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। मुख्य निर्वाचन अधिकृत पदमराज पाण्डेयका अनुसार खड्काले १४ हजार ८९७ मत प्राप्त गरी जित हासिल गरेका हुन्। उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार दीपकबहादुर धामीलाई ७८७ मतान्तरले पछि पारेका हुन्।
एमालेका उम्मेदवार धामीले १४ हजार ११० मत पाएका छन्। यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार नरेन्द्र खड्काले १३ हजार २७० मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेका छन्। नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार एवं पूर्व मुख्यमन्त्री त्रिलोचन भट्ट भने ५ हजार ४१३ मतमा सीमित भएका छन्।
डोटीमा यसपटक कांग्रेस, एमाले र रास्वपाबीच त्रिपक्षीय कडा प्रतिस्पर्धा देखिएको थियो। अन्तिम समयसम्म निकै रोचक बनेको मतगणनामा कांग्रेसका खड्काले बाजी मारेका हुन्। सुदूरपश्चिमको यो महत्त्वपूर्ण जिल्लामा कांग्रेसले आफ्नो साख जोगाउन सफल भएको छ। अहिले डोटीको सिलगढी र दिपायल क्षेत्रमा कांग्रेसका कार्यकर्ताहरूले विजयी उत्सव मनाइरहेका छन्।





