लुम्बिनीमा रास्वपाको दबदबा, कांग्रेस हालसम्म शून्य

प्रतिनिधिसभा सदस्यका लागि भइरहेको मतगणनाको पछिल्लो परिणामअनुसार लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसले हालसम्म खाता खोल्न सकेको छैन ।

प्रदेशका २६ निर्वाचन क्षेत्रमध्ये शनिबार बिहान साढे ८ बजेसम्मको मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ३ सिटमा विजय हासिल गरेको छ । त्यस्तै, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीले एक-एक सिट जितेका छन् ।

२०७९ सालको निर्वाचनमा लुम्बिनी प्रदेशबाट प्रत्यक्षतर्फ ६ सिट जितेको नेपाली कांग्रेसले यसपटक भने अहिलेसम्म कुनै क्षेत्रमा जित निकाल्न सकेको छैन । कांग्रेस हाल कपिलवस्तु-३ मा मात्रै अग्रस्थानमा छ ।

देशभर देखिएको जस्तै लहर लुम्बिनी प्रदेशमा पनि रास्वपाको पक्षमा देखिएको छ । हालसम्म रास्वपाले ३ सिट जितिसकेको छ भने १७ निर्वाचन क्षेत्रमा फराकिलो अग्रता कायम गरेको छ ।

रुपन्देही-४ मा रास्वपाका कन्हैया बानियाँ विजयी भएका छन् । त्यस्तै, बाँके-१ मा रास्वपाकै सुरेशकुमार चौधरी र बाँके-३ मा खगेन्द्र सुनार विजयी भएका छन् ।

यता, नेकपाले रुकुम पूर्वबाट खाता खोलेको छ । उक्त क्षेत्रमा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी भएका छन् । पार्टी अहिले रोल्पामा पनि अग्रस्थानमा छ । रोल्पामा वर्षमान पुन अन्य दलका उम्मेदवारभन्दा अगाडि छन् । अन्य जिल्लामा भने नेकपाका उम्मेदवार पछाडि देखिएका छन् ।

२०७९ सालको निर्वाचनमा लुम्बिनी प्रदेशबाट प्रत्यक्षतर्फ १४ सिट जितेको एमालेले हालसम्म बाँके-२ मा मात्रै विजय हासिल गरेको छ । उक्त क्षेत्रमा एमालेका मोहम्मद इश्तियाक राई विजयी भएका छन् । हाल एमालेका उम्मेदवार थप दुई निर्वाचन क्षेत्रमा अग्रस्थानमा छन् ।

  • कहाँ-कहाँ छ अग्रता ?

हालसम्म लुम्बिनी प्रदेशका ५ निर्वाचन क्षेत्रको अन्तिम परिणाम आइसकेको छ भने बाँकी २१ क्षेत्रमा मतगणना जारी छ । तीमध्ये सबैभन्दा धेरै क्षेत्रमा रास्वपाका उम्मेदवार अग्रस्थानमा छन् ।

रास्वपाका उम्मेदवारहरू रुपन्देही-१ मा सुनिल लम्साल, रुपन्देही-२ मा सुलभ खरेल, रुपन्देही-३ मा डा. लेखजंग कार्की र रुपन्देही-५ मा तोफिक खान अग्रस्थानमा छन् ।

त्यस्तै, दाङ-१ मा देवराज पाठक, दाङ-२ मा विपिनकुमार आचार्य र दाङ-३ मा कमल सुवेदी अगाडि छन् । गुल्मी-१ मा सागर ढकाल, नवलपरासी-१ मा विक्रम खनाल र नवलपरासी-२ मा नरेन्द्र गुप्ताले अग्रता लिएका छन् ।

यसैगरी, कपिलवस्तु-१ मा मोहनलाल आचार्य, कपिलवस्तु-२ मा विक्रम थापा, बर्दिया-१ मा ठाकुरसिंह थारू, प्युठान-१ मा सुशान्त वैदिक, अर्घाखाँची-१ मा हरिप्रसाद भुसाल र पाल्पा-२ मा माधवबहादुर थापा रास्वपाबाट अग्रस्थानमा छन् ।

रास्वपापछि लुम्बिनी प्रदेशमा एमालेको अग्रता देखिएको छ । एमालेबाट गुल्मी-२ का उम्मेदवार गोकर्ण विष्ट र पाल्पा-१ का उम्मेदवार नारायण आचार्य अग्रस्थानमा छन् । नेपाली कांग्रेसका अभिषेकप्रताप शाह कपिलवस्तु-३ मा अगाडि छन् ।