सुनसरीमा निर्वाचन प्रहरी आन्दोलनमा उत्रिएका छन्। कार्यस्थलमा सुरक्षा अधिकारी र मतदान अधिकृतहरूबाटै दुर्व्यवहार र अपमान भएको आरोप लगाउँदै उनीहरू विरोधमा उत्रिएका हुन्।
ज्यानको बाजी थापेर निर्वाचनमा खटिएका आफूहरूलाई मतदान सकिएपछि गन्तव्यसम्म पुग्ने सवारीसाधनको समेत व्यवस्था नगरी अलपत्र पारिएको उनीहरूको आरोप छ।
दुर्गम मतदानस्थलमा अलपत्र पारिएको र तोकिएको सेवा-सुविधामा समेत कटौती गरिएको भन्दै निर्वाचन प्रहरी आक्रोशित भएका हुन्।
विशेषगरी मतदान केन्द्रबाट मतपेटिका ढुवानी गर्दा आफूहरूलाई उपेक्षा गरिएको आरोप उनीहरूले लगाएका छन्।
निर्वाचन सकिएपछि मध्यरातमा विद्यालयबाट निकालिएको र हिँड्न बाध्य भएको गुनासो निर्वाचन प्रहरीले गरेका छन्।
निर्वाचनका बेला पनि सामान्य खानाको समेत व्यवस्था नगरिएको र दालको माड खाएर ड्युटी गर्नुपरेको उनीहरूको भनाइ छ।
यस विषयमा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख केशव कुमार थेबेले भने सामान्य व्यवस्थापकीय कमजोरी मात्र भएको दाबी गरेका छन्।
पहिलो प्राथमिकता मतपेटिकाको सुरक्षित ओसारपसार भएकाले सवारीसाधनमा सबै निर्वाचन प्रहरीलाई एकैपटक समेट्न नसकिएको उनको भनाइ छ।
केही स्थानमा निर्वाचन प्रहरी छुटेको स्वीकार गर्दै प्रहरी प्रमुख थेबेले भने, ‘उनीहरूलाई सम्झाईबुझाई स्थिति नियन्त्रणमा लिइएको छ, अहिले अवस्था सामान्य भइसकेको छ।’




