प्रतिनिधिसभाको निर्वाचनपछि हिमाली विकट जिल्लाका मतपेटिका हेलिकोप्टरमार्फत संकलन भइरहेका छन्।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार शुक्रबार १० वटा दुर्गम स्थानका मतपेटिका हेलिकोप्टरबाट संकलन गरिएका छन्। “कतिपय जिल्लामा संकलनको क्रममै छन्। आज बेलुकीसम्म सबै दुर्गम स्थानको मतपेटिका हेलिकोप्टरमार्फत संकलन गरिसकिनेछ‚” उनले भने।
उनले मतपेटिका सुरक्षित रूपमा संकलन भएपछि मतगणना कार्य तत्काल सुरु हुने बताए। दुर्गम १५ जिल्लाका विकट क्षेत्रबाट हेलिकोप्टरमार्फत मतपेटिका ढुवानी गरिएको हो।
ताप्लेजुङ, रसुवा, दोलखा, बझाङ, रुकुम पूर्वी भागका मतपेटिका मतगणनास्थल पुर्याइएको छ। साथमा संखुवासभा, सोलुखुम्बु, गोरखा, रुकुम पश्चिम, मनाङ, बाजुरा, हुम्लाका मतपेटिका संकलनको काम भइरहेको प्रवक्ता भट्टराईले बताए।




