प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनाअनुसार रुकुमपूर्वमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो अग्रतालाई निकै बलियो बनाएका छन्। मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालका अनुसार प्रचण्डले प्रतिद्वन्द्वीभन्दा दोब्बर बढी मतका साथ अग्रता कायम राखेका हुन्।
पछिल्लो प्राप्त विवरणअनुसार पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ५ हजार ९२४ मत प्राप्त गरेका छन्। उनलाई पछ्याइरहेका नेकपा (एमाले) का उम्मेदवार लीलामणि गौतमले २ हजार ९१ मत पाएका छन् भने नेपाली कांग्रेसकी कुसुमदेवी थापाले १ हजार ७०९ मत प्राप्त गरेकी छन्।
हालसम्म भुमे गाउँपालिकाका ९ वटै वडा र सिस्ने गाउँपालिकाका १, २, ३, ४, ५ र ७ नम्बर वडाको गरी कुल १० हजार ९२१ मतगणना सकिएको छ। गणना भएको मतमध्ये २९७ मत बदर भएको मुख्य निर्वाचन अधिकृत खनालले जानकारी दिए।
अहिले सिस्ने गाउँपालिकाको वडा नम्बर ६ र ८ को मतगणना भइरहेको छ। ती वडाहरूको गणना सकिएपछि पुथा उत्तरगङ्गा गाउँपालिकाको मतगणना सुरु गरिने निर्वाचन कार्यालयले जनाएको छ। रुकुमपूर्वमा प्रचण्डको जीतको सम्भावना बलियो देखिएको छ।




