तनहुँ निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य चयनका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आवश्यक कानुनी र प्राविधिक प्रक्रिया पूरा गरी गणना कार्य थालनी गरेको हो। यस निर्वाचन क्षेत्रमा यसपटक स्थापित पुराना दलहरू र नयाँ उदय भएको शक्तिबिच प्रतिस्पर्धा हुने देखिएको छ ।
मुख्यगरी यस क्षेत्रमा नेपाली कांग्रेसका शङ्कर भण्डारी, नेकपा (एमाले) का केदार सिग्देल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का श्रीराम न्यौपाने प्रतिस्पर्धामा हुनुहुन्छ । विसं २०४८ यताका संसदीय निर्वाचनमा पाँचपटक नेकपा (एमाले) र दुईपटक नेपाली कांग्रेसले जित हासिल गरेको यस क्षेत्रमा यसपटक रास्वपाले मुख्य चुनौती दिएको छ । २०७९ को निर्वाचनमा यस क्षेत्रबाट नेपाली कांग्रेसका भण्डारी निर्वाचित हुनुभएको थियो भने एमाले र कांग्रेसबीचको समानुपातिक मतको अन्तर निकै झिनो थियो । सोही निर्वाचनमा रास्वपाले पनि आफूलाई बलियो तेस्रो शक्तिका रूपमा उभ्याएको थियो ।
तनहुँ १ मा शुक्रबार बिहानदेखि मतगणना भइरहेको छ । तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना शुक्रबार बिहान १ बजेदेखि सुरु भएको छ । प्राप्त प्रारम्भिक मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्लेको पक्षमा उल्लेख्य मत परेको छ ।
छ हजार ५६५मत गन्दा रास्वपाका डा. वाग्लेले दुई हजार ९२८ मत प्राप्त गर्नुभएको छ । त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले एक हजार ६५७ मत र नेकपा एमालेकी उम्मेदवार भगवती न्यौपानेले एक हजार १०१ मत प्राप्त गर्नुभएको छ । जिल्ला निर्वाचन अधिकारी विकास लम्सालका अनुसार यस निर्वाचनमा कुल ५१.७४ प्रतिशत मतदान भएको छ । जसमा महिला ७१ हजार ३ सय ६९ र पुरुष ६० हजार २ सय ५१ गरी कुल एक लाख ३१ हजार ६२० मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।





