अत्यधिक सार्वजनिक बिदाले निजी क्षेत्र आजित

 आम निर्वाचनको आसपासमा करिब एक साता बिदा पर्‍यो । सरकारले फागुन २० देखि २२ गतेसम्म तीन दिन सार्वजनिक बिदा निर्वाचनका लागि दियो । त्यसअघि फागुन १८ गते सोमबार ५६ वटा जिल्लामा र १९ गते तराईका २१ जिल्लामा फागु पूर्णिमाको बिदा भयो । यस्तै २३ गते शनिबार पर्‍यो । यस आधारमा एक साता सार्वजनिक बिदा भयो । अझ महिलाहरुका लागि फागुन २४ गते नारी दिवसको बिदा छ ।

करिब ८० दिनभन्दा बढी २०८२ मा दिने निर्णय गरेको सरकारले आगामी २०८३ सालमा शनिबार र विभिन्न चाडपर्व, जयन्तीलगायत गरी १०९ दिन सार्वजनिक बिदा दिँदैछ । कतिपय दिन देशभर र कतिपय दिन सम्बन्धित क्षेत्र र समुदायका लागि बिदा तोकिएको छ । सरकारले आठ प्रकारका बिदा निर्धारण गरेको छ । जसअन्तर्गत २०८२ मा शनिबार ५२ दिन सार्वजनिक बिदा तय गरिएको छ । त्यस्तै, पर्व बिदा सबैले पाउँछन् । महिला कर्मचारी, शिक्षण संस्था, जात्रा, दिवस, अपाङ्गता भएका कर्मचारी, जयन्ती र दिवसमा कतिपय देशभर र कतिपय सम्बन्धित क्षेत्र तथा समुदायका व्यक्तिका लागि बिदा निर्धारण गरिएको छ ।

यससँगै विदेशस्थित नेपाली नियोगले सम्बन्धित मुलुकको बिदालाई समेत ध्यानमा राखेर १८ दिनसम्म सार्वजनिक बिदा आफैं व्यवस्थापन र समायोजन गर्न पाउँछन् । प्रदेश र स्थानीय सरकारले पनि आ–आफ्नो क्षेत्रको धर्म, संस्कृतिका आधारमा थप ६ दिन सार्वजनिक बिदा दिन पाउँछन् ।

यसरी अत्यधिक सार्वजनिक बिदाले निजी क्षेत्र आजित बन्न थालेको छ । सार्वजनिक बिदाका कारण मजदुरहरु काममा नआउने, सरकारी कामहरु समेत नहुँदा समस्या पर्न थालेको निजी क्षेत्रका अगुवाहरुले बताउन थालेका छन् । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सार्वजनिक बिदाहरु अत्यधिक हुँदा काममा असर पर्न थालेको बताए । उनका अनुसार भूगोल र जनसंख्याको हिसाबले नेपाल सानो भए पनि सार्वजनिक बिदा दिने प्रचलन बढी हुँदा यसको असर काममा पर्न थालेको छ । हरेक समुदायका सबैले बिदा प्राप्त गर्दा नेपालमा काम गर्ने दिनभन्दा सार्वजनिक बिदा धेरै हुन थालेको उनको भनाइ छ । बिदाहरुका कारण मुलुकको विकाससँगै अर्थतन्त्रलाई पछाडि धकेलिरहेको बताउँदै उनले बिदाका कारण सरकारी कर्मचारी घर बस्दा निजी क्षेत्रले ठूलो क्षति व्यहोर्नुपरिरहेको बताए ।

अध्यक्ष सिंहले भने– ‘भूगोल र जनसंख्याको हिसाबले नेपाल धेरै नै सानो छ । भारत र चीनभन्दा ३०/३५ गुणा जनसंख्याको आधारमा नेपाल सानो छ । सानो देशमा धेरै नै विविधता छ । त्यो विविधताको सम्मान गर्नुपर्छ । तर त्यो सम्मान गर्दै गर्दा मुलुकको अर्थतन्त्र संकुचनमा ल्याउने, मुलुकको जिडिपी, आर्थिक वृद्धिलाई घटाउने र हाम्रो प्रगतिलाई बाधा गर्नेगरी धेरै सार्वजनिक बिदा हुने गरेको छ । जुन समुदायलाई बिदा दिनुपर्ने हो त्यो समुदायलाई मात्रै अब बिदा दिनुपर्छ । हरेक समुदायका सबैले बिदा प्राप्त गर्दा नेपालमा काम गर्ने दिनभन्दा सार्वजनिक बिदा धेरै भइरहेको छ । धेरै भाषाभाषी संस्कृति छौँ, बिदा दिएर मात्रै मनाउने भन्ने हुँदैन । शहीद दिवसका दिन पनि बिदा दिइन्छ । बिदा दिन जरुरी छैनन् । अब काम गरेर कार्यक्रमहरु पनि गर्दै जानुपर्छ । बिदाहरुका कारण मुलुकको विकाससँगै अर्थतन्त्रलाई पछाडि धकेलिरहेका छौँ । बिदाका कारण सरकारी कर्मचारी घर बस्दा निजी क्षेत्रले ठूलो क्षति व्यहोर्नुपरिरहेको छ । निर्माण क्षेत्रमा केही काम सार्वजनिक बिदामा भए पनि धेरै मजदुरले हामीले चाडपर्व मान्नुपर्दैन भनेर भन्ने गरेका छन् । त्यसले पनि समस्या पार्ने गरेको छ ।’

निर्माण क्षेत्रमा सार्वजनिक बिदाहरुले काम गर्न धेरै कठिन भइरहेको उनको भनाइ छ ।