मध्यपूर्वमा इजरायल, अमेरिका र इरानबीचको हालको युद्धको अवस्थालाई ध्यानमा राख्दै सरकारले खाडी मुलुक जाने नेपाली कामदारका लागि श्रम स्वीकृति दिन स्थगित गरेको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले अर्को सूचना नआएसम्म वैदेशिक रोजगारीमा जाने कामदारका लागि श्रम स्वीकृति प्रदान कार्य रोकिएको बताए। मन्त्रालयले विमानस्थलमा रहेका नेपालीहरूलाई घर फर्किन आग्रह गरेको छ भने आवश्यक परे उद्धारका लागि तयारीमा रहेको पनि जनाएको छ।
भण्डारीका अनुसार, इजरायल र अमेरिकाले इरानमा मिसाइल आक्रमण गरेपछि इरानले मध्यपूर्वका विभिन्न अमेरिकी सैन्य क्याम्पहरूमा प्रतिकार गर्दै आएको छ। यसकारण यूएई, कतार, ओमान, कुवेत लगायतका देशमा रहेका नेपालीको सुरक्षा जोखिम बढेको छ।
श्रम मन्त्रालयको कल सेन्टर २४ घण्टा तयारी अवस्थामा राखिएको छ र परिस्थिति विकट भएमा तत्काल उद्धारको योजना पनि बनाइएको छ।
मन्त्री भण्डारीले भने, “घटना कस्तो रूपमा विकास हुन्छ भन्ने आधारमा आवश्यक परे तत्काल नेपालीहरूलाई सुरक्षित निकाल्ने व्यवस्था गरिएको छ।”




