इरानमाथि अमेरिका र इजरायले सैन्य आक्रमण गरेपछि मध्यपूर्वी क्षेत्रको हवाई क्षेत्र बन्द गरिएको छ भने त्यसको प्रभाव नेपालमा पनि परेको छ।
इरानमाथि आक्रमणपछि कतारले विमानस्थल बन्द गरेको छ। त्यस्तै, यूएईले दुबई र आधुधावी अन्तर्राष्ट्रिय विमानस्थल पनि बन्द गरेको छ।
मध्यपूर्वका उडान रोकिपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मध्यपूर्वमा हुने उडान पनि स्थगित भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले पनि सूचना प्रकाशित गरी उडान प्रभावित भएको जनाएको छ।
विमानस्थल कार्यालयले भनेको छ, ‘मध्यपूर्व क्षेत्रको हालैको हवाई क्षेत्र प्रतिबन्धका कारण केही अन्तर्राष्ट्रिय उडानहरू ढिलाइ, पुनःतालिका वा रद्द हुन सक्ने सम्भावना छ।’
अन्तर्राष्ट्रिय उडानका लागि विमानस्थल आउनुअघि सम्बन्धित विमान कम्पनीमा सम्पर्क गर्न त्रिभुवन विमानस्थल कार्यालयले आग्रह गरेको छ। सूचनामा भनिएको छ, ‘यात्रुहरूलाई विमानस्थलतर्फ प्रस्थान गर्नुअघि तल उल्लेखित विमान सेवा कम्पनीहरूसँग आफ्नो उडानको पछिल्लो अवस्था अनिवार्य रुपमा पुष्टि गर्न अनुरोध गरिन्छ।’






