पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा

पछिल्लो हवाई आक्रमण र सीमापार झडपपछि पाकिस्तानले अफगानिस्तानसँगको द्वन्द्व अब ‘खुला युद्ध’ मा रूपान्तरित भएको घोषणा गरेको छ । पाकिस्तानका रक्षा मन्त्री ख्वाजा मोहम्मद आसिफले शुक्रबार बिहान सामाजिक सञ्जाल एक्स मार्फत देशको ‘धैर्य समाप्त भएको’ जनाउँदै अब दुई देशबीच खुला युद्धको अवस्था सिर्जना भएको बताए ।

उनले नाटो सेना फिर्ता भएपछि पाकिस्तानले अफगानिस्तानमा शान्ति स्थापना हुने अपेक्षा गरेको तर तालिबान सरकारले त्यसको विपरीत बाटो रोजेको आरोप लगाए । तालिबानले अफगान जनताको कल्याण र क्षेत्रीय स्थिरतामा ध्यान केन्द्रित गर्ने अपेक्षा गरिए पनि अफगानिस्तानलाई ‘भारतको उपनिवेश’ बनाइएको, विश्वभरका उग्रवादीलाई एकत्रित गरिएको र ‘आतङ्कवाद निर्यात’ सुरु गरिएको उनको दाबी थियो । ‘हाम्रो धैर्य अब समाप्त भएको छ । अब हामीबिच खुला युद्ध छ’, उनले उल्लेख गरे । उनका अभिव्यक्तिबारे अफगान सरकारी अधिकारीहरूको तत्काल कुनै प्रतिक्रिया आएको छैन ।



रक्षा मन्त्री आसिफको टिप्पणी पाकिस्तानले काबुल, कान्दाहार र पक्रिया प्रान्तमा हवाई आक्रमण गरेको केही घण्टापछि सार्वजनिक भएको हो । पाकिस्तानी अधिकारीहरू र अफगान सरकारका प्रवक्ता जबीहुल्लाह मुजाहिदका अनुसार यी आक्रमणहरू अफगानिस्तानबाट भएको सीमापार आक्रमणको प्रत्युत्तरस्वरूप गरिएको दाबी गरिएको छ । केही महिनाअघि कतार र टर्कीको मध्यस्थतामा युद्ध विराम भएको भए पनि पछिल्लो घटनाक्रमले तनाव पुनः चुलिएको देखिएको छ ।

दुवै देशले एकअर्कालाई ठूलो क्षति पुर्‍याएको दाबी गरेका छन् तर ती विवरण स्वतन्त्र रूपमा पुष्टि हुन सकेका छैनन् । अफगानिस्तानको रक्षा मन्त्रालयले रातिको समयमा भएको कारबाहीमा ५५ पाकिस्तानी सैनिक मारिएको, केहीको शव अफगानिस्तानतर्फ लगिएको र ‘धेरैलाई जीवितै नियन्त्रणमा लिइएको’ जनाएको छ । मन्त्रालयका अनुसार आठ अफगान सैनिक मारिएका र ११ जना घाइते भएका छन् । १९ पाकिस्तानी चौकी र दुई आधार ध्वस्त पारिएको तथा बिहीबार सुरु भएको झडप करिब चार घण्टापछि मध्यरातमा रोकिएको दाबी गरिएको छ ।



यता पाकिस्तानका सूचना मन्त्री अत्ताउल्लाह तरारले दुई पाकिस्तानी सैनिक मारिएको र तीन जना घाइते भएको जानकारी दिए । प्रधानमन्त्री शाहबाज सरिफका प्रवक्ता मुशर्रफ अली जैदीले कुनै पनि पाकिस्तानी सैनिक पक्राउ परेको दाबी अस्वीकार गर्दै कम्तीमा १३३ अफगान लडाकू मारिएको र दुइ सय भन्दा बढी घाइते भएको उल्लेख गरे । उनका अनुसार २७ अफगान चौकी ध्वस्त पारिएका र नौ जना लडाकू लाई नियन्त्रणमा लिइएको छ । हताहत कहाँ भएका भन्ने स्पष्ट नगरिए पनि काबुल, पक्तिया र कान्दाहारका सैन्य लक्ष्यमा आक्रमणबाट ठूलो क्षति पुगेको अनुमान गरिएको उनले जनाए ।

इस्लामाबादस्थित दुई वरिष्ठ सुरक्षा अधिकारीले केही सीमा चौकीमा अफगान सेनाले सेतो झण्डा उठाएको दाबी गरेका छन्, जसलाई सामान्यतः गोली बारी रोक्ने सङ्केतका रूपमा लिइन्छ । नाम उल्लेख नगर्ने सर्तमा उनीहरूले पाकिस्तानी सेनाले अफगान तालिबानको ‘अप्रेरित आक्रमण’ को कडा जवाफ दिएको र सीमावर्ती क्षेत्रका महत्त्वपूर्ण तालिबान चौकीहरू ध्वस्त पारेको बताएका छन् ।

रक्षा मन्त्री आसिफले तालिबान सरकारले महिलासहितका आधारभूत मानव अधिकारलाई इस्लाम अन्तर्गत प्रत्याभूत गरिएका अधिकारसमेत बेवास्ता गरेको आरोप पनि लगाउनुभयो । यद्यपि त्यसबारे विस्तृत प्रमाण प्रस्तुत गरिएको छैन । पाकिस्तानले प्रत्यक्ष र मित्र राष्ट्रमार्फत स्थिरता कायम गर्न प्रयास गरेको तर पाकिस्तानलाई लक्षित गरी आक्रामकता बढेपछि आफ्ना सशस्त्र बलले ‘निर्णायक जवाफ’ दिएको उनको भनाइ थियो ।

तनाव बढेसँगै मानवीय असर पनि देखिन थालेको छ । पाकिस्तानका अधिकारीहरूले उत्तर पश्चिमी तोरखाम नाकाबाट फर्किन प्रतीक्षारत दर्जनौँ अफगान शरणार्थीलाई झडप फैलिएपछि सुरक्षित स्थानमा सारिएको बताएका छन् । पाकिस्तानले अक्टोबर २०२३ देखि कागजात विहीन आप्रवासी विरुद्ध व्यापक कारबाही सुरु गरेको थियो । त्यसक्रममा धेरैलाई गिरफ्तारी र जबर्जस्ती निष्कासन बाट जोगिन देश छाड्न आग्रह गरिएको थियो भने अरूलाई निष्कासन गरिएको थियो । इरानले पनि सोही समयमा आप्रवासी विरुद्ध कडाइ सुरु गरेको थियो ।