निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरित प्रकाशित तथा प्रशारित सामग्रीमाथि निगरानी बढाएको छ ।
आयोगअन्तर्गत स्थापना गरिएको सूचना सदाचार प्रवद्र्धन एकाइले हानिकारक सूचनाहरुको अध्ययन गरी सम्बन्धित निकायमा कारबाहीको लागि सिफारिस गरेको हो । एकाईमा हालसम्म ६ सय १२ वटा हानिकारक सूचनासम्बन्धी उजुरी प्राप्त भएको आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए ।
उनकाअनुसार प्राप्त उजुरीहरूको व्यवस्थापन तथा हटाउन आयोगले सम्बन्धित निकायहरूमा पत्राचार गर्दै आएको छ । ती निकायबाट केही सामग्री हटाइसकेको पनि उनले जानकारी दिए ।
नेपाल प्रहरी अन्तर्गतको साइबर ब्युरोलाई ३ सय ३६ वटा सामग्री हटाउन पत्राचार गरेकोमा १ सय २९ वटा सामग्री हटाएको उनले बताए । हानिकारक सूचना प्रकाशित गर्ने १२ वटा वेबसाइटलाई ब्लक गरिएको छ ।
उनकाअनुसार वेबसाईट नियमन गर्ने निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई पनि निर्वाचन आचारसंहिता विपरीत सामग्री प्रकाशन गर्ने १२ वटा वेबसाइट ब्लक गर्न अनुरोध गरिएको थियो ।
ती साइटहरूले निर्वाचन नतिजा पूर्वानुमान गर्दै भ्रामक र अनुमानित सूचना सार्वजनिक गरेकोले व्लक गर्न सिफारिस गरेको उनले जानकारी दिए । उनकाअनुसार प्रेस काउन्सिल नेपालमा पठाइएका ७४ वटा उजुरीमध्ये ३२ वटा सामग्री हटाइएको छ ।
निर्वाचन आचारसंहिता अनुगमन उच्चस्तरीय समितिले आचारसंहिता उल्लंघन गरेको आरोपमा विभिन्न ९० जनासँग स्पष्टीकरण सोधेको पनि उनले जानकारी दिए । सम्बन्धित व्यक्तिहरूले आयोगले तोकेको समयसीमाभित्र स्पष्टीकरण पेश गरेको उनको भनाई छ ।
जिल्लास्तरमा गठित अनुगमन समितिले पनि काम गरिरहेको उनले जानकारी दिए । उनले निर्वाचन अवधिभर आचारसंहिता विपरित गतिविधि नियन्त्रण र हानिकारक सूचना हटाउने कार्यलाई निरन्तरता दिने बताए ।
उनले निर्वाचन आचारसंहिता पालना गर्नको लागि आयोगले कडाई गरिरहेको पनि जानकारी दिए । निर्वाचन प्रचारप्रसारमा अवरोध सिर्जन नगर्न, बालबालिकाको प्रयोग नगर्न, निर्वाचन चिन्हको भौतिक प्रयोग नर्गन, शिक्षक तथा कर्मचारीहरुलाई निर्वाचन प्रचारप्रसारमा सहभागी नहुन तथा स्थानीय जनप्रतिनिधिलाई आफ्नो कार्यक्षेत्रमा प्रचारप्रसारमा सहभागी नहुन निर्देशन दिएको उल्लेख गरे ।
उनले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्नेलाई प्रचलित कानूनअनुसार कारबाही गर्ने चेतावनी समेत दिए ।
