सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिए पनि राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं आज नछुट्ने भएका छन्।
मंगलबार न्यायाधीश मनोजकुमार शर्मा र न्यायाधीश मेघराज पोखरेलको इजलासले उनलाई थुनामुक्त गर्न आदेश दिएको थियो।
सर्वोच्चले सरकारी वकिलको अनुमतिले हाजिर जमानी वा तारेख वा धरौटीमा छाड्न आदेश गरेको छ। ढिला भइसकेकाले उनको प्रक्रिया बुधबार मात्रै हुने जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी कौशलकुमार बुढाथोकीले जानकारी दिए।
‘सरकारी वकिलको अनुमतिले छाड्नु भन्ने खालको आदेश छ। आज ढिला भएकाले भोलि प्रक्रिया अघि बढ्छ,’ उनले भने।
सर्वोच्चले प्रसाईंलाई कानून बमोजिम थुनामा राखेको नदेखिएको पनि आदेशमा उल्लेख गरेको छ।
‘प्रसाईंलाई थुनामा राखेको कार्य कानून बमोजिम मान्न मिल्ने नदेखिई प्रसाईंको संविधान प्रदत्त वैयक्तिक स्वतन्त्रताको हकमा गम्भीर आघात पुगेको देखिन आएकोले रिट निवेदक प्रसाईंलाई अविलम्ब थुनामुक्त गर्न बन्दी प्रत्यक्षीकरणको आदेश जारी गरिदिएको छ,’ आदेशमा भनिएको छ।
प्रहरीले प्रसाईंलाई फागुन ४ गते पक्राउ गर्दा जरूरी पक्राउ पुर्जी दिएको देखिन्छ।
सर्वोच्चले प्रसाईंलाई जरूरी पक्राउ पुर्जीमार्फत पक्राउ गर्नुपर्ने अवस्था समेत नरहेको आदेशमा उल्लेख गरेको छ।





