रौतहटको सदरमुकाम गौर नगरपालिका वडा नम्बर ६ स्थित सबगढामा भएको साम्प्रदायिक दङ्गा भड्काएको आरोपमा २२ जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।
उनीहरु माथि आपराधिक उपद्रोह तथा आगजनी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको हो।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार जनमत पार्टीका जिल्ला इन्चार्ज शेख जमशैद, वडा ६ का वडाध्यक्ष अबधविहारी साहलाई आवश्यक परेको बखत उपस्थित गराउने शर्तमा जिम्मा जमानीमा रिहा गरिएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार गएको शनिबार सबगढा घटनालाई चर्काएर तोडफोडमा संलग्न रहेको आरोपमा शुभनारायण साह र समिर मियाँलाई पक्राउ गरिएको छ। दुई जनासहित कुल २२ जनाविरुद्ध मुद्दा दर्ता गरी प्रहरीले सूक्ष्म अनुसन्धान गरिरहेको छ।
जिम्मा जमानीमा रिहा गरिएका जमशैद, वडा अध्यक्ष विहारीसहित तीन जनाको मोबाइल प्रहरी नियन्त्रणमा लिइएको र मोबाइल परीक्षणका लागि काठमाडौं पठाइने बताइएको छ ।
परीक्षणका क्रममा दोषी ठहर हुने प्रमाण फेला परेमा सोही कसुरअनुसार नियन्त्रणमा लिएर कारबाही गरिने प्रहरीले जनाएको छ।
सुरक्षा निकायले घटनामा संलग्न अन्य व्यक्तिहरूको पहिचान तथा खोजी कार्य जारी रहेको जनाएको छ ।
मुद्दा दर्ता गरिएका व्यक्तिहरूमा शेख अलियास, शेख अरमान, रितेश कुमार राम, रितिक कुमार यादव, दिपेन्द्र चन्द्रवंशी, विनोद कुमार साह, शेख रहमतुल्लाह, शेख मैनुदिन, अब्दुल रुमान, दिपलाल पासवान, ललन साह, शेख निराले, शेख सागिर, अहमद राजा, सर्फुदिन अन्सारी, अफरोज महम्मद, दिपक कुशवाहा, अब्दुल समिर, बिहान साह र महम्मद कैफ लगायत रहेका छन्।
के भएको थियो ?
गत बिहीबार राति विवाहको जन्ती बाजा बजाउँदै सवगढा प्रवेश गर्ने क्रममा मस्जिद अगाडि बाट गएको थियो।
मस्जिदमा नमाज पढ्ने क्रममा बाजा किन बजाएको भनेर मुस्लिम समुदायले डिजे समूहलाई कुटपिट गरेको विषयलाई लिएर साम्प्रदायिक बिवाद सुरु भएको थियो।





