गौरमा कर्फ्यु निरन्तर

जिल्ला प्रशासन कार्यालय रौतहटले गौर नगरपालिकाका विभिन्न क्षेत्रमा कर्फ्युलाई निरन्तरता दिएको छ । आज बिहान साढे ६ बजेदेखि साढे ८ बजेसम्म केही खुकुलो गरिए पनि अहिले कर्फ्युलाई पुन: निरन्तरता दिइएको हो ।

जिल्ला सुरक्षा समितिको निर्णयअनुसार प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले अर्को सूचना नआएसम्मका लागि कर्फ्युलाई निरन्तरता दिइएको जानकारी दिए ।

कर्फ्यु लागू भएका क्षेत्रमा पूर्वमा मुडबलवा गेट, पश्चिममा लालबकैया बाँध, उत्तरमा बसपार्क क्षेत्र र दक्षिणमा गौर भन्सार कार्यालय कायम गरिएको छ । जिल्ला प्रशासन कार्यालयले सबैलाई शान्ति सुरक्षा कायम गर्न सहयोग गर्न आग्रह गरेको छ । यदि कर्फ्यु आदेश उल्लंघन गरेमा कानुनबमोजिम कारबाही गर्ने चेतावनी प्रशासनले दिएको छ ।

शनिबार बिहान गौर नगरपालिका–६ स्थित सनगडा गाउँमा मुस्लिम समुदायले प्रार्थना गरिरहेका बेला हिन्दू समुदायले बाजा बजाएको भन्दै विवाद सिर्जना भएको थियो । उक्त विवाद भड्किएर हिंसात्मक रूप लिँदै झडपमा परिणत भएको थियो ।