रौतहटको गौर नगरपालिका क्षेत्रमा लगाइएको कर्फ्यु आइतबार पनि जारी छ। जिल्ला प्रशासन कार्यालयले आज बिहान ६:३० बजेदेखि ८:३० बजेसम्म अत्यावश्यक कामका लागि मात्रै खुकुलो पारिएको जानकारी दिएको छ।
तर प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालका अनुसार, यस अवधिमा पनि सभा, जुलुस वा प्रदर्शन गर्न पूर्ण रोक लाग्नेछ। बिहान साढे ८ बजेदेखि भने अर्को आदेश नभएसम्म कर्फ्यु निरन्तर लागू रहनेछ। गौर नगरपालिकाको पूर्वमा मुडबलवा गेट, पश्चिममा लालवकैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालयसम्मको क्षेत्र कर्फ्युमा राखिएको छ।
यस क्षेत्रमा कुनै पनि व्यक्तिको आवतजावत, भेला, सभा, जुलुस वा प्रदर्शनमा रोक लगाइएको छ। शनिवार दिउँसो १ बजेदेखि स्थानीय समुदायबीच विवाद उत्पन्न भएपछि कर्फ्यु लगाइएको थियो। स्थिति नियन्त्रणमा आएको भए पनि थप हिंसा रोक्नका लागि कर्फ्यु जारी गरिएको प्रशासनले जनाएको छ।
जिल्ला प्रशासनले आदेश उल्लङ्घन गर्नेलाई कडाइका साथ कारबाही गरिने चेतावनी दिएको छ र शान्ति स्थापना गर्न स्थानीय बासिन्दाको सहयोगको अपिल गरेको छ।






