नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार यसकै प्रभावले देशका विभिन्न भूभागमा मौसम बदली र हिमपातको सम्भावना रहेको छ ।
अहिले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली देखिएको छ । देशका अन्य हिमाली भूभागमा पनि बादल लागेको भए तापनि बाँकी क्षेत्रमा भने मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।
आज दिउँसो तराईका कतिपय स्थानमा हुस्सु लाग्ने र हिमाली भेगमा सामान्य बादल लाग्ने अनुमान गरिएको छ । कोशी, गण्डकी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद्को भनाइ छ । यस्तै अन्य प्रदेशका उच्च पहाडी क्षेत्रका एक–दुई स्थानमा पनि वर्षा र हिमपात हुनसक्ने देखिएको छ । तराई क्षेत्रमा भने दिउँसोको मौसम मुख्यतया सफा रहनेछ ।
रातिको समयमा तराईका केही ठाउँमा तुवाँलो लाग्नेछ भने कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भेगमा आंशिक बदली हुनेछ । कोशी, गण्डकी र कर्णालीका हिमाली क्षेत्रका थोरै स्थानमा राति पनि हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।





