फुङलिङ नगरपालिका-८ दोखु क्षेत्रमा आगलागी भएको छ ।
साप्तेल भन्ने क्षेत्रबाट सुरु भएको आगलागी नियन्त्रणका लागि स्थानीयबासी, दुर्गादल गुल्मका स्थानीय सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी र नगरपालिकाको दमकल परिचालन गरिएको छ ।
वडा नम्बर-८ का वडाध्यक्ष क्षितिज सुनुवारका अनुसार शनिबार मध्याह्नबाट सुरु भएको आगलागीबाट जोखिममा रहेका सल्लेरी, कोदार गाउँ, रजाहा र हिटी क्षेत्रका घरहरु जोगाइएको छ ।
साप्तेल भेदावारी, घुमाउने क्षेत्रका घर जोगाउन सेना र नेपाल प्रहरीको टोली खटिएको छ भनेहिटीबाट सालिम्बे क्षेत्रमा आगो पस्न नदिन सशस्त्र प्रहरीको टोली खटिएको छ । नगरपालिकाका दुई वटा दमकलबाट पानी ओसार्ने र निभाउने काम भइरहेको वडाध्यक्ष सुनुवारले जानकारी दिए ।
यहाँबाट आगो उम्किए सालिम्बे सम्म नै पुग्ने र धेरै घरहरु जोखिममा पर्ने भएकाले नियन्त्रणका लागि अझै सक्रिय हुनुपर्ने उनले बताए । प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले आगलागीको खबर प्राप्त हुनासाथ सुरक्षाको संयुक्त टोली परिचालन गरिएको बताए । आगलागीको कारण भने खुलेको छैन ।





