पशुपति मन्दिर परिसरमा युवकको ह**त्या

पशुपतिनाथ मन्दिर परिसरमा एक जना युवकको हत्या भएको छ । फागुन ६ मा संखुवासभा घर भएका २५ वर्षीय सन्तोष गिरी मृत अवस्थामा भेटिएका हुन् । आर्यघाट पारिपट्टि आरती गर्ने स्थलको शिवालयमा उनको शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए ।

प्रारम्भिक अनुसन्धानबाट उनको हत्या भएको थाहा भएको छ । चिम्टा र बाँसको चिर्पटले प्रहार गरेर उनको हत्या गरिएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

महाशिवरात्रिको मेलामा पशुपति पुगेका भारतीय साधु निरज नाथ समेतको समूहसँग वादविवाद हुँदा समूह मिलेर उनलाई चिम्टा लगायतका बस्तुले प्रहार गरेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

हत्यामा संलग्न आशङ्कामा भारतको उत्तर प्रदेश मथुरा घर भएका ४८ वर्षीय निरज नाथ र दोलखा बैतेश्वर गाउँपालिका घर भएका २३ वर्षीय आशीर्वाद नाथ योगी भन्ने सरोज तामाङलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरूसँग सोधपुछ गर्ने काम भइरहेको एसपी भट्टराईले बताए । आरोपीहरूलाई प्रहरी वृत्त गौशालामा राखिएको छ ।

फागुन ५ मा राति उनको हत्या भएको हो । मृतक गिरी काठमाडौँ महानगरपालिका–८ स्थित पशुपति मन्दिर क्षेत्रमा बस्दै आएका थिए । उनको शव पोस्टमार्टमका लागी त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।