एमालेले सार्वजनिक गर्‍यो घोषणापत्र

 नेकपा (एमाले)ले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

बिहीबार आयोजित समारोहमा अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गरेका हुन् ।

एमालेले ‘समृद्ध नेपाल, सुखी नेपाली–राष्ट्रिय आकांक्षा हाम्रो गन्तव्य’ भन्ने मूल नारा समेटेर घोषणापत्र बनाएको छ ।

एमालेको केन्द्रीय निर्वाचन परिचालन कमिटीले आयोजना गरेको चुनावी घोषणापत्रमा आधारित बहस देश पहिला कार्यक्रममा अध्यक्ष ओलीले सम्बोधन गर्दै लक्ष्य निर्धारणहित प्रतिबद्धता सार्वजनिक गरेका हुन्।

एमालेले ‘समृद्ध नेपाल, सुखी नेपाली : राष्ट्रिय आकाङ्क्षा हाम्रो गन्तव्य’को नारासहित त्यसलाई पूरा गर्न आफ्नो पार्टीलाई विजयी गराउनुपर्नेमा जोड दिएको छ। विगतमा आफ्नो पार्टी सरकारमा हुँदा थालिएका र पूरा गर्न नपाएका सुशासन, विकास, रोजगारी र सामाजिक न्यायका क्षेत्रलाई एमालेले मुख्य प्राथमिकता दिएको छ।

घोषणापत्रमा तत्काल गर्ने ११ काम, पाँच आधारभूत काम र २५ सङ्कल्प सार्वजनिक गरिएको छ। अध्यक्ष ओलीले भत्काउने र जलाउने नभइ बनाउने सङ्कल्पका साथ एमालेले विगतका अनुभव र अभ्यासका कारण मुलुकको मुहार फेर्ने कामको अगुवाइ गर्ने दाबी गरे।

उनले स्वाधीनता र राष्ट्रियताको पक्षमा एमाले सधैँ दृढ रहेको स्पष्ट गर्दै आफूहरू कुनै लोकप्रितावाद वा स्टन्टमा केन्द्रित नहुने बताए।

घोषणापत्रमा एमालेले राजनीतिक स्थिरता, लोकतन्त्रको सुदृढीकरण र राष्ट्रिय स्वाधीनताको रक्षालाई मुख्य प्राथमिकतामा राखेको छ । मुलुकलाई अस्थिरताको चक्रबाट बाहिर निकाली विकास र समृद्धिको यात्रामा अघि बढाउन एमालेको एकल बहुमत आवश्यक रहेको जिकिर गर्दै अध्यक्ष ओलीले २०७२ सालको संविधान जारी भएपछिको विकासको नेतृत्व एमालेले नै गरेको दाबी गरेका छन् ।

घोषणापत्रमा आगामी ५ वर्षभित्र मुलुकको अर्थतन्त्रको आकार १०० खर्ब र १० वर्षमा २०० खर्ब पुर्‍याउने तथा नेपालीको प्रतिव्यक्ति आय ५ वर्षमा ३ हजार अमेरिकी डलर पुर्‍याउने महत्त्वाकाङ्क्षी आर्थिक लक्ष्य राखिएको छ ।

अन्तर्राष्ट्रिय सम्बन्धमा असंलग्न परराष्ट्र नीतिमा अडिग रहँदै नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षा गर्ने कुरामा एमालेले जोड दिएको छ ।

विदेशमा रहेका नेपालीहरूलाई ‘सद्भाव दूत’ का रूपमा लिँदै उनीहरूको सीप र पुँजीलाई राष्ट्र निर्माणमा लगाउने र एनआरएनलाई ‘खास प्राकृतिक लगानीकर्ता’ को मान्यता दिने घोषणापत्रमा उल्लेख छ ।