काठमाडौंको बौद्ध स्थित पाँचतारे होटल हायात रिजेन्सीमा सञ्चालित क्यासिनो प्राइडमा लुटपाट गर्नेहरूलाई अदालतले थुनामा पठाउन आदेश गरेको छ ।
मंगलबार थुनछेक बहसपछि काठमाडौं जिल्ला अदालतले मुख्य प्रतिवादीहरू दावा शेर्पा ‘सेठ्ठी’, रञ्जित खड्गी ‘रने’ र दोर्जे शेर्पा सहित १० जनालाई पुर्पक्षको लागी थुनामा पठाउन आदेश गरेको हो ।
जेनजी प्रदर्शन हुँदा भदौ २४ मा उनीहरुले क्यासिनोबाट करिब १४ करोड लुटेको आरोप छ । सो प्रकरणमा दावा शेर्पा, रञ्जित खड्गी, दोर्जे शेर्पा, शुक्रराज घिसिङ, मनोहरी पौडेल, करण डंगोल, अभिषेक चौहान, शिशिर राई, सुनिल गजमेर र रञ्जन तामाङ पक्राउ परेका थिए ।
पक्राउ गरेका १० जना प्रतिवादीलाई अदालतले पुर्पक्षको लागी थुनामा पठाउन आदेश गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिल कार्यालयले उनीहरू विरुद्ध आपराधिक उपद्रव र डाँकाचोरी मुद्दामा अभियोजन गरेको थियो ।
प्रहरीले उनीहरू विरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा पनि लगाउने तयारी गरिरहेको छ ।




