नेपाल ९ विकेटले वेस्ट इन्डिजसँग पराजित हुँदै समूह चरणबाटै बाहिरियो

आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपाल ९ विकेटले वेस्ट इन्डिजसँग पराजित हुँदै समूह चरणबाटै बाहिरिएको छ ।

लगातार तीन हारपछि नेपाल अंकविहिन बनेको छ। यसअघि नेपाल इंग्ल्यान्ड र इटलीसँग पराजित भएको थियो ।

समूह सी मा वेस्ट इन्डिज अपराजित रहँदै ६ अंकसहित शीर्ष स्थानमा छ ।

इंग्ल्यान्ड दुई जित र एक हारबाट ४ अंकसहित दोस्रो, स्कटल्याण्ड र इटली समान २ अंकसहित तेस्रो र चौथो स्थानमा छन् ।

इटलीलाई दुवै बाँकी खेल जित्नुपर्नेछ भने इंग्ल्यान्डले इटलीमाथि जीत पाए सुपर एटमा पुग्नेछ ।

नेपालले दिएको १३४ रनको लक्ष्य वेस्ट इन्डिजले १५.२ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो ।

कप्तान शाई होप ६१ रन अविजित रहे, शिमरोन हेतमायरले ४६ रन अविजित बनाएका थिए ।

नेपालका लागि नन्दन यादवले १ विकेट लिए ।

नेपालले टस हारेर पहिले ब्याटिङ गर्दा ८ विकेट गुमाएर १३३ रन बनायो ।

उपकप्तान दीपेन्द्र सिंह ऐरीले ४७ बलमा ५८ रन बनाए ।

सोमपाल कामीले अविजित २६ रन योगदान दिए ।

दीपेन्द्र र सोमपालले ५४ रनको उच्च साझेदारी गर्दै इनिङ्स सम्हाले ।

नेपालको पावर प्ले कमजोर रहँदै ६ ओभरमा ३ विकेटमा २२ रनमै सिमित भयो ।

कुशल भुर्तेल लगातार दोस्रो खेलमा सिंगल डिजिटमा आउट भए। रोहित पौडेल ५, आसिफ शेख ११, आरिफ शेख २, लोकेश बम ११ रनमा आउट भए ।

बलिङमा वेस्ट इन्डिजका जेसन होल्डरले ४ विकेट लिए भने अकिल होसेन, म्याथ्यु फोर्डे, शमार जोसेफ र रोस्टन चेसले १–१ विकेट लिए ।

यस खेलसँगै सोमपाल कामी नेपालका लागि तीन टी-२० विश्वकप खेल्ने पहिलो र एक मात्र खेलाडी बने ।

नेपालले खेलेको सबै तीन विश्वकपमा उनले सहभागिता जनाएका हुन् ।

नेपाल टिमका बाँकी दुई सदस्य सन्दिप जोरा र अलराउण्डर बसिर अहमदले मात्र खेल्न बाँकी छन् ।