सरकारले आज फागुन ३ गते देशभर सार्वजनिक बिदा दिएको छ । आज महाशिवरात्रि परेकोले सरकारले बिदा दिने निर्णय गरेको हो ।
आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी महाशिवरात्रि मनाइँदै छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा आराधना गरी आज देशभर मनाउन लागिएको हो ।
आज सरकारी कार्यालय, बीमा कम्पनी, बैंक तथा सेयर बजार पनि बन्द रहनेछ ।
यसका साथै यो साता २ दिन मात्रै सेयर बजार खुला हुने भएको छ । ५ दिन कारोबार हुने भए पनि यो साता तीन दिन सार्वजनिक बिदा परेका कारण २ दिन मात्रै बजार खुल्ने भएको हो । यो साता बजार सोमबार र मंगलबार मात्रै खुला रहने भएको हो ।
आज फागुन ३ गते आइतबार महाशिवरात्री, फागुन ६ गते बुधबार ग्याल्पो ल्होसार तथा फागुन ७ गते बिहीबार प्रजातन्त्र दिवस परेका कारण ती दिन सेयर बजार बन्द रहनेछ ।




