पोखरा महानगरपालिका–६ पामेस्थित फेवातालमा गएराति कार खस्दा स्याङ्जा फेदीखोला गाउँपालिका–५ घर भई हाल पोखरा–७ मासबार बस्ने २४ वर्षीय अदित गुरुङको मृत्यु भएको छ।
सशस्त्र प्रहरी बल नेपाल नं २४ गण हे.क्वा कालिका कास्कीका अनुसार दुर्घटना राति करिब २ः१० बजे पामेको गैह्राकोचौतरा नजिकै भएको हो। चालकले नियन्त्रण गुमाउँदा कार सडकबाट तालमा खसेको थियो।
दुर्घटनाको खबर पाएपछि गणपति सशस्त्र प्रहरी उपरीक्षक बसन्त बहादुर सिंहको कमाण्डमा गोताखोरसहित २१ जनाको टोली घटनास्थल पुगेको थियो। गोताखोर टोलीले अचेत अवस्थामा रहेका गुरुङलाई तालबाट बाहिर निकालेर गण्डकी मेडिकल कलेजमा पठाए पनि बिहान ४ः३४ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
दुर्घटनाग्रस्त कारलाई क्रेनको सहायताले तालबाट बाहिर निकालिएको छ। घटनाबारे थप अनुसन्धानका लागि सवारी साधनलाई वडा प्रहरी कार्यालय बैदाममा राखिएको प्रहरीले जनाएको छ।




