पूर्वमुख्यमन्त्री शर्मा पार्टीबाट निष्कासित, सांसद पद पनि गुम्ने निश्चित

नेपाली कम्युनिस्ट पार्टीले कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री राजकुमार शर्मालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ। पार्टीले गरेको यस कारबाहीसँगै उनको कर्णाली प्रदेश सभा सदस्य पद पनि खारेज हुने प्रक्रिया अघि बढाइएको छ। 

पार्टीका कर्णाली प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीका अनुसार शर्मालाई गरिएको कारबाहीसम्बन्धी पत्र बुधबार नै प्रदेश सभा सचिवालयमा पठाइएको हो। 

२०७९ सालको निर्वाचनमा रुकुम पश्चिमबाट निर्वाचित शर्मा जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टीका कर्णाली प्रदेश इन्चार्जसमेत हुन्।

प्रमुख सचेतक जिसीले शर्माले जानीजानी पार्टीको नीति, सिद्धान्त र आचरणविपरीत कार्य गरेको ठहर गर्दै उनलाई पार्टी विधान तथा संसदीय दलको विधान २०८२ बमोजिम सबै जिम्मेवारीबाट हटाउने निर्णय भएको जानकारी दिएका छन्। 

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को व्यवस्था अनुसार पार्टी सदस्यबाट निष्कासित व्यक्ति प्रदेश सभा सदस्य रहन नपाउने भएकाले उनलाई पदमुक्त गर्न सचिवालयलाई पत्राचार गरिएको उनले बताए। 

प्रदेश सभा सचिवालयका सचिव जीवराज बुढाथोकीले कारबाहीको पत्र दर्ता भइसकेको र आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको पुष्टि गरेका छन्। यस घटनाले कर्णाली प्रदेशको राजनीतिमा नयाँ हलचल पैदा गरेको छ।