आईसीसी टी-२० विश्वकपअन्तर्गत समूह ‘ए’ को खेलमा पाकिस्तानले आफ्नो विजयी यात्रालाई कायमै राखेको छ । मंगलबार राति सम्पन्न प्रतिस्पर्धात्मक खेलमा अमेरिकालाई ३२ रनले पराजित गर्दै पाकिस्तानले प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको हो ।
पाकिस्तानले प्रस्तुत गरेको १९१ रनको विशाल लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५८ रन मात्र बनाउन सक्यो । अमेरिकाका लागि शुभम रञ्जानेले अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै, शायन जायागिरले ४९ रनको योगदान दिए भने मिलिन्दु कुमार २९ रनमा समेटिए । अमेरिकालाई मध्यम स्कोरमा रोक्न पाकिस्तानका बलर उस्मान तारिकले घातक बलिङ गर्दै ३ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १९० रनको चुनौतीपूर्ण योगफल तयार पारेको थियो । पाकिस्तानको विशाल स्कोरमा ओपनर साहिबजादा फरहानले विष्फोटक ब्याटिङ गरे । उनले मात्र ४१ बलको सामना गर्दै ६ चौका र ५ छक्काको मद्दतमा सर्वाधिक ७३ रनको सानदार इनिङ्स खेले ।
फरहानबाहेक कप्तान बाबर आजमले ३२ बलमा ४६ रनको परिपक्व इनिङ्स खेल्दा सादाब खानले अन्त्यतिर १२ बलमा ३० रन जोड्दै टोलीलाई बलियो स्थितिमा पुर्याएका थिए । बलिङतर्फ अमेरिकाका श्याड्ली भान शाल्कवाइकले ४ विकेट लिए पनि त्यो पाकिस्तानलाई रोक्न पर्याप्त भएन ।
यो जितसँगै पाकिस्तान २ खेलबाट ४ अंक जोड्दै समूह ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ । एक खेल जितेको भारत २ अंकसहित दोस्रो स्थानमा छ भने नेदरल्यान्ड्स समान २ अंक भए पनि नेट रनरेटका आधारमा तेस्रो स्थानमा छ । लगातार हार व्यहोरेका नामिबिया र अमेरिका भने अंकविहीन रहँदै तालिकाको पुछारमा छन् ।
समूह ‘ए’ मा पाकिस्तान, भारत, नेदरल्यान्ड्स, नामिबिया र अमेरिका रहेका छन् । लगातार दुई जितसँगै पाकिस्तानको अघिल्लो चरणको सम्भावना बलियो बनेको छ ।





