रामेछाप बस दुर्घटना: मृ*त्यु हुने १० जनाको सनाखत, दुईको अझै खुलेन पहिचान

 रामेछापको सदरमुकाम मन्थली नजिकै भएको बस दुर्घटनामा ज्यान गुमाएका १२ जनामध्ये १० जनाको पहिचान खुलेको छ। मन्थली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. केशवसिंह धामीका अनुसार मृत्यु हुनेहरूमा रामेछापको लिखु तामाकोशी गाउँपालिकाका विभिन्न वडाका भीमबहादुर तामाङ, सानुमाया तामाङ, रमिता तामाङ, तारा तामाङ, बबी तामाङ, दीपेन्द्र बस्नेत, दीपेश बस्नेत र मानकुमारी बरुवाल रहेका छन्।

त्यस्तै, सिन्धुलीको गोलन्जोरका शिव श्रेष्ठ र दोलखाका मानबहादुर तामाङको पनि सनाखत भएको छ। मृतक अन्य दुई जनाको भने अझै सनाखत हुन सकेको छैन।

प्रहरी नायव उपरीक्षक भोला भट्टका अनुसार यस दुःखद दुर्घटनामा बसका चालकसहित ८ जना घाइते भएका छन्। घाइतेहरूको खुर्कोटस्थित शुभ जीवन अस्पताल, मन्थली अस्पताल र तामाकोशी अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीले दुर्घटनामा परेका बस चालकलाई नियन्त्रणमा लिएको छ भने बसका अन्य यात्रुहरूको खोजी र उद्धार कार्यलाई निरन्तरता दिएको छ। काठमाडौँबाट ओखलढुङ्गाका लागि छुटेको अरनिको यातायातको प्रदेश ०३-०१-००५ ख ९९७५ नम्बरको बस आज बिहान मन्थली नगरपालिका-६ मसानटारमा सडकबाट करिब एक सय मिटर तल तामाकोशी नदीमा खसेको थियो।