प्रधानमन्त्री सुशीला कार्की र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग भेटवार्ता भएको छ। भेटमा दुई देश विचको सम्बन्धका बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री कार्कीले निर्वाचनका लागि छिमेकी मित्रराष्ट्र भारतले गरेको सहयोगका लागि राजदूत श्रीवास्तवलाई धन्यवाद व्यक्त गरिन् ।
निर्वाचन सहज, पारदर्शी र सुरक्षित रूपमा सम्पन्न गर्न भारतले सवारी साधन, उपकरण र अन्य आवश्यक सामग्री उपलब्ध गराएकोमा नेपाल सरकारको तर्फबाट कार्कीले आभार व्यक्त गरिन् ।
भारतीय राजदूत श्रीवास्तवले नेपालको लोकतान्त्रिक प्रक्रियामा सदैव सहयोग गर्ने र मित्रवत् छिमेकीको नाताले नेपालको निर्वाचन सफल बनाउन योगदान दिने आफ्नो कर्तव्य भएको बताए । उनले भने, “नेपालमा लोकतान्त्रिक र संवैधानिक स्थिरता कायम हुनु भारतका लागि पनि महत्वपूर्ण छ।”
प्रधानमन्त्री कार्कीले निर्वाचनका समयमा छिमेकी मित्रराष्ट्र भारतसँग सहयोगको अपेक्षा व्यक्त गर्दै, लोकतान्त्रिक अभ्यासमा सकारात्मक साझेदारी आवश्यक रहेको औंल्याइन्।





