भेनेजुएलाका प्रभावशाली विपक्षी नेता खुआन पाब्लो ग्वानिपा जेलबाट रिहा भएको केही घण्टा पनि बित्न नपाउँदै हतियारधारी समूहद्वारा अपहरणमा परेका छन्। आइतबार राति कारकासको लस चोर्रोस क्षेत्रमा १० जनाको संख्यामा रहेका सादा पोसाकका सशस्त्र व्यक्तिहरूले उनलाई नियन्त्रणमा लिएको दाबी ग्वानिपाको परिवार र राजनीतिक सहयोगीहरूले गरेका छन्।
अघिल्लो वर्षको मे महिनामा कथित आतंकवादी योजनामा संलग्न रहेको आरोपमा पक्राउ परेका ६१ वर्षीय ग्वानिपालाई आइतबार साँझ मात्रै कारागारबाट मुक्त गरिएको थियो। जेलबाट बाहिरिएलगत्तै उनले सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै भेनेजुएलाको भविष्यका लागि सत्यको साथमा लडिरहने उद्घोष गरेका थिए। तर, खुसीयाली मनाउन नपाउँदै उनी सवार सवारीसाधनलाई चारवटा गाडीमा आएका अज्ञात व्यक्तिहरूले घेरा हालेर उनलाई जबर्जस्ती लिएर गएका हुन्।
ग्वानिपाका छोरा रामोनले आफ्ना पितालाई कुनै परिचयपत्र नभएका एजेन्टहरूले बन्दुक देखाएर एम्बुसमा पारेको बताएका छन्। उनले प्रशासनसँग आफ्नो पिताको अवस्था सार्वजनिक गर्न र जीवितै रहेको प्रमाण देखाउन माग गरेका छन्।
ग्वानिपाको दल प्रिमेरो जस्टिसियाले यो अपहरणमा वर्तमान सत्ताकै हात रहेको आरोप लगाएको छ। उसले अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिग्वेज, राष्ट्रिय सभाका अध्यक्ष जर्ज रोड्रिग्वेज र आन्तरिक मामिला मन्त्री डियोसडाडो काबेलोलाई ग्वानिपाको जीवनको सुरक्षाका लागि जिम्मेवार ठहर्याएको छ।
भेनेजुएलाका पूर्वशक्तिशाली नेता निकोलस मादुरोलाई अमेरिकी विशेष फौजले पक्राउ गरेपछि हाल त्यहाँ रोड्रिग्वेजको नेतृत्वमा अन्तरिम सरकार रहेको छ। अमेरिकी प्रशासनको दबाबमा राजनीतिक बन्दीहरूलाई रिहा गर्ने क्रममा ग्वानिपा छुटेका थिए।
नोबेल पुरस्कार विजेता तथा विपक्षी नेतृ मारिया कोरिना माछाडोले यस घटनालाई लिएर गम्भीर चिन्ता व्यक्त गरेकी छन्।





