कोरला नाकाबाट भित्रिएको अवैध सामान बरामद

 माथिल्लो मुस्ताङको कोरला नाकाबाट भित्रिएको अवैध सामान बरामद भएको छ ।

लोमान्थाङ–४ छोसेरको न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालय, सशस्त्र प्रहरी बल नेपाल र इलाका प्रहरी कार्यालय छोसेरको संयुक्त गस्ती टोलीले एक लाख १७ हजार बराबरको अवैध सामान बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार बरामद सामान भन्सार कार्यालयको जिम्मा लगाइएको छ । यसअघि पुस २७ गते कोरला नाकामा रोकि राखिएको मालबाहक कन्टेनरबाट दुई करोड २४ लाख रुपैयाँ बराबरको अवैध विद्युतीय चुरोट (भेप) बरामद गरिएको थियो ।

त्यसैगरी पुस २० गते जोमसोमतर्फ लुकाइछिपाई ल्याउँदै गरेको ६ करोड ८१ लाख रुपैयाँको अवैध भेप बरामद भएको थियो । हिउँदयाममा सीमावर्ती क्षेत्रमा अवैध क्रियाकलाप बढ्ने भएकाले सुरक्षाकर्मीले निरन्तर गस्ती गर्दै आएका छन् ।