नेपाली कांग्रेसको सुदीर्घ इतिहासमा विशेष महाधिवेशन यतिबेला केवल एउटा कार्यक्रम मात्र नभएर विशिष्ट विमर्श र असाधारण राजनीतिक परिस्थितिको उपज बनेको छ । जब कुनै पनि जीवन्त पार्टी आफ्नो अस्तित्व, विश्वसनीयता र भावी गन्तव्यका बारेमा गम्भीर प्रश्नहरूको चक्रव्यूहमा फस्छ, तब मात्र यस्ता असामान्य र साहसिक अभ्यासहरू जन्मन्छन् ।
विगतमा गगन–विश्व यस्तो एउटा जटिल दोसाँधमा उभिएका थिए, जहाँ एकातिर शेरबहादुर देउवा र उनको घेरासामु आत्मसमर्पण गर्ने निरीहता थियो भने अर्कातिर नयाँ शिराबाट दललाई पुनर्संरचना गर्ने साहस । यही पृष्ठभूमिमा, विशेष महाधिवेशनमार्फत गगन–विश्वले नेपाली कांग्रेसको नेतृत्वलाई आफ्नो चालकीय कौशलमार्फत उनीहरूले कांग्रेसलाई चलायमान बनाएका छन् ।
यद्यपि, यो कौशल उनीहरूको व्यक्तिगत सामर्थ्य मात्र थियो वा नेतृत्वप्रति कार्यकर्तामा सञ्चित असन्तुष्टिको सामूहिक विस्फोटन ? यसको पूर्ण निरूपण हुन बाँकी छ । यसलाई भविष्यको गर्भमा रहेको परिणामले संकेत गर्नेछ ।
उनीहरूको यो पदार्पण केवल नेतृत्वको हेरफेर मात्र होइन, बरु पार्टीको वैचारिक, संगठनात्मक र नैतिक पुनर्जागरणको एउटा बुलन्द घोषणा हो । यो उदय उत्साह, अपेक्षा र जोखिम– यी तीनवटै भावनाहरूको एउटा त्रिवेणी हो । गगन–विश्वको वैचारिकताले विजयलाई रूपान्तरणको ठोस कार्यदिशामा यसरी अनुवाद गरेको देखिन्छ ।
कार्यकर्तामा परिवर्तनको तृष्णा
गगन थापा लामो समयदेखि युवाको आशा र भविष्यको कांग्रेसको एउटा जीवन्त प्रतीकका रूपमा स्थापित छन् । संसद्मा उनको प्रखर उपस्थिति, स्वास्थ्य क्षेत्रदेखि लोकतान्त्रिक संस्थाको सुदृढीकरणसम्मका मुद्दामा देखिएको वैचारिक स्पष्टता र सत्ता वा विपक्ष, जहाँ रहँदा पनि निरन्तर सुधारको वकालत गर्ने साहसले उनलाई परम्परागत नेताहरूभन्दा भिन्न र विशिष्ट श्रेणीमा उभ्याएको छ ।
विशेष महाधिवेशनमार्फत सभापतिमा उनको चयन वास्तवमा देउवा प्रवृत्तिले संस्थागत गरेको परिवारवाद, अराजनीतिक गठबन्धनको संस्कृति र खरिद–बिक्रीको राजनीतिप्रति कार्यकर्ताको गहिरो असन्तोषको एउटा प्रस्ट अभिव्यक्ति हो । यो पुरानो गुटबन्दी, नेतृत्वको अकर्मण्यता, बारम्बारको चुनावी पराजय र विचारविहीन सत्तालोलुपता विरुद्धको एउटा वैचारिक विद्रोह पनि हो ।
नाराबाट नीतिसम्म
गगन थापाको नेतृत्वको केन्द्रीय दर्शन नै रूपान्तरण हो । तर, यदि यो रूपान्तरण केवल भाषण र आकर्षक पोस्टरहरूमा मात्र सीमित रह्यो भने कांग्रेसले अर्को एउटा ऐतिहासिक अवसर गुमाउनेछ । उनको घोषित एजेन्डा मुख्यतः पाँचवटा आयाम छन् ।
संगठनात्मक पुनर्संरचनाः उनको लक्ष्य गुट होइन, पद्धतिका आधारमा चल्ने संस्थागत पार्टी निर्माण गर्नु हो । पद होइन जिम्मेवारी र सिफारिस होइन मापदण्ड भन्ने मान्यतालाई उनले जोड दिएका छन् । वडा तहदेखि केन्द्रसम्मको संगठनलाई आधुनिक बनाउने, डिजिटल सदस्यता प्रणाली लागू गर्ने र आन्तरिक निर्वाचनलाई पारदर्शी बनाउने उनका प्रतिबद्धताहरूले कांग्रेसलाई २१औँ शताब्दीको सुहाउँदो पार्टी बनाउने आधार खडा गरेका छन् ।
वैचारिक स्पष्टताः कांग्रेसमाथि आज ‘न समाजवादी, न दक्षिणपन्थी आजको कांग्रेस अलमलिएको मध्यपन्थ’ को आरोप लागिरहेको छ । गगन थापाका सामु लोकतान्त्रिक समाजवादलाई नेपाली धरातलमा व्यावहारिक नीतिमा ढाल्ने ठुलो चुनौती छ । शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षामा राज्यको अभिभावकीय भूमिका र निजी क्षेत्रसँगको सहकार्यबीच सन्तुलन कायम गर्नु नै उनको वैचारिक अग्निपरीक्षा हुनेछ । यही एजेन्डाले उनलाई युवा पुस्तामाझ स्थापित गराएको हो ।
युवामैत्री राजनीतिको मार्गचित्रः स्वदेशमा अवसर नदेखेर विदेश पलायन भइरहेका युवाहरूलाई रोक्ने भाषण त धेरै भए, तर नीति बनेनन् । गगन थापाको सभापतित्व तब मात्र सार्थक हुनेछ, जब पार्टीको निर्णायक तहमा ४० वर्ष मुनिका युवाको सम्मानजनक उपस्थिति हुन्छ र रोजगारी, स्टार्टअप एवं उद्यमशीलताका स्पष्ट नीतिहरू कार्यान्वयन हुन्छन् । युवाहरूका लागि अवसर सिर्जना गर्नु उनको भविष्यको सबैभन्दा ठुलो चुनौती हो ।
सुशासन र नैतिक राजनीति: कांग्रेसमाथि भ्रष्टाचारका मुद्दाहरूमा मौन बस्ने मात्र होइन, बरु त्यसको संरक्षण र भागबन्डा गर्ने गरेको गम्भीर आरोप लाग्दै आएको छ । गगन थापाको सबैभन्दा ठुलो परीक्षा आफ्नै पार्टीका नेताहरूमाथि प्रश्न उठ्दा कडा कानुनी र नैतिक मापदण्ड लागू गर्न सक्छन् कि सक्दैनन् भन्नेमा छ । भ्रष्टाचार आरोपितलाई टिकट नदिने र स्वच्छ छविका व्यक्तिलाई अघि सार्ने विषयमा उनको अडान नै उनको नेतृत्वको कडी हुनेछ ।
सत्ताको पुनःपरिभाषाः ‘सत्ता साध्य होइन, समाज रूपान्तरणको साधन हो’ भन्ने सिद्धान्तलाई व्यवहारमा उतार्न सके मात्र पार्टी पुनः विश्वसनीय बन्न सक्छ । देउवाको कार्यकालमा पार्टी जहिले पनि सत्तामुखी रह्यो । आफन्त, आसेपासे र नातागोतालाई सत्तामा पुर्याउन मापदण्डहरू मिचिए । गगनले अब यो राजसी शैली र आशीर्वादको राजनीतिलाई तोडेर सही व्यक्तिको सही मूल्याङ्कन गर्ने पद्धति बसाल्नु पर्नेछ ।
देउवाकालीन गठबन्धनमा प्रहारः गगन थापाले कांग्रेसको सारथि बन्दै गर्दा देउवाकालीन अलोकतान्त्रिक गठबन्धनको राजनीतिमाथि प्रहार त गरेका छन्, तर उनी सामु आफ्नै दल र विपक्षीहरूका चुनौतीका चाङ छन् । उनले राजनीतिलाई अप्राकृतिक गठबन्धनको चंगुलबाट मुक्त गरी स्वस्थ र मित्रवत् प्रतिस्पर्धाको लोकतान्त्रिक बाटोमा डोर्याउनुपर्नेछ । यो ‘कालो जालो’ उनले कसरी तोड्छन्, त्यो हेर्न बाँकी नै छ ।
रूपान्तरणको महँगो मूल्य
रूपान्तरणको यात्रा कहिल्यै पनि सहज र पुष्पवृष्टिले भरिएको हुँदैन । गगन थापाका लागि जोखिम केवल विपक्षी दलहरू होइनन्, बरु आफ्नै पार्टीभित्रका गहिरा खाडलहरू हुन् ।
त्यसैले लामो समयदेखि पार्टीको सत्ता र स्रोतमा कब्जा जमाएका नेताहरूले उनको उदयलाई सहजै स्विकार्ने छैनन् । संरचनागत सुधार हुनु भनेकै उनीहरूको शक्ति क्षीण हुनु हो । त्यसैले आन्तरिक अवरोध, मौन असहयोग र खुला विद्रोहसम्मका चुनौतीलाई चिरेर पुरानालाई सम्मानजनक बिदाइ र नयाँलाई अवसर दिने सन्तुलन उनले मिलाउनुपर्नेछ ।
गगन थापामाथि आम जनता र कार्यकर्ताको अपेक्षा यति विशाल छ कि एक–दुई वटा ससाना कमजोरीले पनि निराशाको डढेलो लगाउन सक्छ । तीन दशकदेखिको निराशाको बादललाई चिर्न उनले समाधानको स्रोत बन्नै पर्छ । त्यसैले विपक्षमा रहँदा धारिलो बन्ने तर सत्तामा पुग्दा भागबन्डामा अल्झिने कांग्रेसको भुत्ते प्रवृत्तिलाई चिर्नु गगनका लागि अर्को अग्निपरीक्षा हो ।
देउवा युगमा प्रतिपक्षमा हुँदा पनि सत्ताकै ¥याल काढ्ने संस्कारले पार्टीलाई कमजोर बनाएको थियो, जसलाई उनले अन्त्य गर्नुपर्नेछ । विगतका गल्तीका कारण जनताको एउटा तप्का कांग्रेसप्रति सशङ्कित छ । यो संशयलाई चिर्न भाषण मात्र पर्याप्त छैन, परिणाममुखी काम र इमानदारिताको खाँचो छ ।
गगन थापा बनाम जड व्यवस्था
गगन थापाको संघर्ष व्यक्ति वा समूहसँग मात्र होइन, बरु वर्षौँदेखि जरा गाडेर बसेको रुढीग्रस्त, पैसामुखी र सत्तापिपासु राजनीतिक संस्कारसँग हो । टिकट वितरणमा पारदर्शिता, संघीयताको प्रभावकारी कार्यान्वयन र संसद्लाई बहसको केन्द्र बनाउने जस्ता विषयमा उनले सार्थक नीति अवलम्बन गर्न सके भने उनी केवल एउटा नेता मात्र होइन, प्रणाली नै हेरफेर गर्न सक्ने व्यक्तिका रूपमा स्थापित हुनेछन् ।
त्यसैले यो नै गगनको अन्तिम अवसर पनि हुन सक्छ । यदि उनी सफल भए, कांग्रेस पुनः मुलुकको वैचारिक केन्द्र बन्नेछ र लोकतन्त्र थप सुदृढ हुनेछ । तर, उनी असफल भएमा कांग्रेस केवल इतिहासको एउटा सम्झनामा सीमित हुने जोखिम छ र वैकल्पिक शक्तिहरूको उदय अझ तीव्र हुनेछ । स्वयं गगनका लागि पनि यो अवसर गुमाएको नेता बन्ने कि नायक हुने भन्ने परीक्षा हो ।
विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापा आज इतिहासको यस्तो निर्णायक मोडमा उभिएका छन्, जहाँ आधा–अधुरो परिवर्तनले अब काम गर्दैन । यहाँ त या त गहिरो रूपान्तरण सम्भव छ, या त दीर्घकालीन पतन । यदि गगन थापाले साहस, स्पष्टता र निरन्तरताका साथ यो रथलाई अगाडि बढाउन सके भने, उनको नाम नेपाली कांग्रेसको इतिहासमा मात्र होइन, नेपाली लोकतन्त्रको पुनर्जागरणको एउटा सुनौलो अध्यायका रूपमा लेखिनेछ ।





