आईसीसी पुरुष टी२० विश्वकप २०२६मा इंग्ल्याण्डसँग नेपाल पराजित भएको छ । मुम्बईको वानखेडे स्टेडियममा आज भएको पहिलो खेलमा नेपाल ४ रनले पराजित भएको हो । नेपाल विश्व च्याम्पियनमाथि ऐतिहासिक जित दर्ताबाट चुकेको छ ।
जितको नजिक पुगेर पनि अन्तिम ओभरमा आवश्यक रन जोड्न नसक्दा नेपालले ऐतिहासिक जित निकाल्ने सुनौलो अवसर गुमाएको हो।
इंग्ल्यान्डले दिएको १८५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन मात्र बनाउन सक्यो। नेपालका लागि मध्यक्रमका ब्याटर दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ४४ रनको योगदान दिए। उनले २९ बलमा ६ चौका र १ छक्का प्रहार गरेका थिए। त्यस्तै, अन्त्यतिर लोकेश बमले उत्कृष्ट ब्याटिङ गर्दै मात्र २० बलमा ३९ रन जोडेर खेललाई अन्तिम बलसम्म रोमाञ्चक बनाएका थिए।
कप्तान रोहित पौडेलले ३९ रन र ओपनर कुशल भुर्तेलले २९ रनको योगदान दिए पनि अन्य ब्याटर चल्न सकेनन्।
इंग्ल्यान्डका लागि लियाम डसनले किफायती बलिङ गर्दै ४ ओभरमा २१ रन खर्चेर २ महत्वपूर्ण विकेट लिए। साम करन, जोफ्रा आर्चर र ल्यूक उडले समान १–१ विकेट लिए। इंग्ल्यान्डले १० अतिरिक्त रन दिए तापनि नेपालले अन्तिम ओभरमा तीब्र गतिमा रन बटुल्न नसक्दा नतिजा इंग्ल्यान्डको पक्षमा गयो।




