अभ्यास खेलमा नेपाल विजयी

विश्वकपको तयारी गरिरहेको नेपालले दोस्रो अभ्यास खेलमा मुम्बई क्रिकेट एकेडेमी प्रेसिडेन्ट्स ११ लाई ४८ रनले हराएको छ।

१ सय ८४ रनको लक्ष्य पछ्याएको मुम्बई ले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३५ रनमा सिमित भयो।

सन्दीप लामिछानेले ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए । ललित राजवंशी र गुलशन झाले समान २ विकेट लिए । पहिलो ओभर २२ रन खर्चेका गुलशनले पछिल्लो २ ओभरमा ५ रन खर्चेर २ विकेट लिएका हुन्।

मुम्बईका लागि ओपनर मुलचन्दानीले रनआउट हुनुअघि २७ बलमा टोलीका लागि सर्वाधिक ४७ रन बनाए।

अर्का ओपनर सक्सेनाले २३ रन जोडे। ब्रेबन क्रिकेट स्टेडियम त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले आरिफ शेखको अविजित अर्धशतकसँगै २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ८३ रन बनाएको थियो।

आरिफले ४२ बलमा ६६ बनाए । गुलशनले १२ बलमा २३ थपे । अघिल्लो खेलमा भन्दा ४ खेलाडी परिवर्तन गरेको नेपालका लागि आसिफ शेख र लोकेश बमले ओपनिङ गरे।

पहिलो विकेटका रुपमा लोकेश १५ रन बनाएर आउट भए । आसिफले १७ बलमा २५ रन जोडे ।

सन्दीप जोराले ३१ रन बनाए। बसिर अहमदले ९ रन जोडे।

मुम्बईका मंगुकिया र चाभानले समान २ विकेट लिए।